पब्लिक सूचना
नेपालमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)सम्बन्धी अध्ययन, अध्यापन हुने भएको छ । यसका लागि किङ्स कलेज र नेपाल अप्लाइड म्याथमेटिक्स एन्ड इन्फरमेटिक्स इन्स्टिट्युट फर रिसर्च (नामी)ले एआईसम्बन्धी शैक्षिक पाठ्यक्रम विकास गरिसकेका छन् । साथै ६ महिने कक्षा सञ्चालन गर्ने जानकारीसमेत दिएका छन् । साताको ४ दिन, ९० घण्टाको कक्षा लिन पाइथन प्रोग्रामिङ चलाउन भने जानेकै हुनपर्ने सर्त राखिएको छ ।

सूचना प्रविधिको अध्ययन-अध्यापनलाई प्राथमिकता दिँदै आएको किङ्स कलेज र एआई शिक्षासम्बन्धी वैज्ञानिक अनुसन्धान गर्ने नामीले एआईसम्बन्धी विशिष्ट तथा एकीकृत पाठ्यक्रम विकास गरी अबको दुई महिनाभित्र शैक्षिक कार्यक्रम सुरु गर्न लागेका हुन् । त्यसका लागि हाल भर्ना प्रक्रिया खुला गरिएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत दिइएको जानकारी अनुसार कार्यक्रमको पहिलो चरणमा सूचना प्रविधि तथा इन्जिनियरिङ विधामा काम गरिरहेका व्यक्तिलाई प्राथमिकता दिइनेछ । एआईमा रुची राख्ने जो कोहीले कक्षा लिन सक्ने जानकारी गराइएको छ ।
‘पछिल्लो समय विश्वमै मूलधार प्रवृत्तिका रूपमा विकास भइरहेको एआईको क्षेत्रमा नेपालले पनि फड्को मार्न सकोस् भन्ने उद्देश्यले पढाइ शुरु गर्न लागेका हौं,’ किङ्स कलेजका अध्यक्ष नरोत्तम अर्यालले भने, ‘हामी नयाँ-नयाँ शैक्षिक कार्यक्रम सञ्चालन गर्दै शिक्षामा नविनतम प्रयोग गर्दै आएका छौं । एआईको प्रयोगले ल्याउनसक्ने अवसरलाई आत्मसाथ गर्न यो कार्यक्रम ल्याइएको हो ।’ एआईसम्बन्धी पाठ्यक्रम बनाउन र शैक्षिक कार्यक्रम सञ्चालनका लागि नामीसँग साझेदारी गरिएको उनले बताए ।
एआईसम्बन्धी पाठ्यक्रम विकास गर्दा सैद्धान्तिक मात्रै नभएर व्यवहारिक पाटोलाई समेत मध्यनजर गरिएको नामीका संस्थापक विशेष खनालको भनाइ छ । ‘एआईलाई प्रयोग गर्न मात्र नभइ विश्व बजारमा प्रतिस्पर्धा गर्नसक्ने एआईमा आधारित सफ्टवेयहरू बनाउन सक्ने जनशक्ति देशभित्रै तयार गर्नु यस शैक्षिक कार्यक्रमको उद्देश्य हुनेछ,’ खनालले भने, ‘एआई सफ्टवेयरमा काम गर्ने जनशक्तिको माग विश्व बजारमा धेरै छ । यस्ता काममा नेपालबाट पनि धेरै आउटसोर्सिङ हुने गरेको छ । फ्रिलान्सरका रूपमा पनि नेपाली युवाहरूले काम गरिरहेका छन् । नेपालमै कृषि, स्वास्थ्यजस्ता क्षेत्रमा एआईको सहायताले धेरै पहल गर्न सकिने ठाउँ छ ।’ एआईबारे जानकार र सक्षम जनशक्ति उत्पादन गर्नुका साथै सीप अभिवृद्धिका लागि यो शैक्षिक कार्यक्रम उपयोगी हुनेे बताइएको छ ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend