logo
  • मंगलबार, कार्तिक ११ २०८३

एनपिएलले क्रिकेटप्रेमी उत्साहित


  • पब्लिक सूचना
  • मंगलबार, कार्तिक ११ २०८३

कीर्तिपुर, कात्तिक १० गते । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) ले युवामा उत्साह जगाएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा सोमबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेल हेर्न मैदान पुगेका दर्शकको उपस्थितिले क्रिकेटप्रतिको बढ्दो मोह झल्काएको छ ।

क्रिकेटको घरेलु प्रतियोगितामध्ये सबैभन्दा लोकप्रिय बन्न सफल एनपिएलले नेपाली युवा खेलाडीलाई प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गरेको छ भने क्रिकेटप्रेमी समग्र पुस्तालाई उत्साहित बनाएको छ । एनपिएलले नेपालका विभिन्न ग्रामीण क्षेत्रमा रहेका युवा प्रतिभालाई अन्तर्राष्ट्रिय मैदानमा आफ्नो क्षमता देखाउने अवसरसमेत दिएको छ ।

क्रिकेटप्रति नेपाली युवाको चासो बढिरहेका बेला युवा खेलाडीको क्षमता प्रदर्शन र नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन एनपिएलले थप मौका प्रदान गरेको छ । एनपिएलको उद्घाटन खेल हेर्न कीर्तिपुर पुगेका धनगढीका सुरज विष्ट एनपिएलले क्रिकेटप्रतिको रुचि थप बढाएको बताउनुहुन्छ । “एनपिएललगायतका ठुला प्रतियोगिताले क्रिकेटप्रतिको थप लगाब बढाएको छ, सरकारले पनि यसमा लगानी बढाउनु पर्छ अनि मात्रै नेपाली क्रिकेट विश्वस्तरको बन्न सक्छ,” विष्टले भन्नुभयो ।

प्रतियोगितामा आठ फ्रेन्चाइज टोली लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, काठमाडौँ गोर्खाज, चितवन राइनोज, विराटनगर किङ्ग्स, पोखरा एभेन्जर्स र कर्णाली याक्सले प्रतिस्पर्धा गर्दै छन् । एनपिएलको यो संस्करण अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट आधिकारिक मान्यताप्राप्त प्रतियोगिता हो । जसका कारण एनपिएलले अन्तर्राष्ट्रिय समुदायको समेत ध्यान तानेको छ । चर्चित विदेशी खेलाडीको आगमनले नेपाली क्रिकेटको चर्चा थप चुलिएको छ । एनपिएलको पहिलो संस्करणमा कर्णाली याक्सले भारतीय चर्चित क्रिकेटर शिखर धवन, दोस्रो संस्करणमा विराटनगर किङ्ग्सले दक्षिण अफ्रिकाका फाफ डु प्लेसिस जस्ता खेलाडी भित्र्याएका थिए । यस पटक सबै टोलीले चर्चित खेलाडी भित्र्याएका छन् । यस पटक अस्ट्रेलियाका पूर्वकप्तान डेबिड वार्नर, वेस्ट इन्डिजका एन्द्रे रसेल, सेरफन रुदरफर्ड, दक्षिण अफ्रिकाका आक्रमक ब्याटर डेभिड मिलर, बङ्गलादेशका अलराउन्डर सकिब अल हसन जस्ता खेलाडीको उपस्थितिले एनपिएलको रौनक थप बढेको छ ।

प्रतियोगितामा नेपालमै पहिलो पटक डिसिजन रिभ्यु सिस्टम (डिआरएस) को प्रयोग गरिँदै छ । नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले उच्चस्तरीय प्रविधिको प्रयोगसहित एनपिएल इतिहास रच्ने तयारीमा रहेको बताउनुहुन्छ । चर्चित विदेशी खेलाडीको सहभागिता र आधुनिक प्रविधिको प्रयोगले नेपाली क्रिकेटलाई विश्वमाझ चिनाउनुका साथै खेललाई निष्पक्ष बनाउनसमेत सहयोग पुगेको उहाँको भनाइ छ । यस पटक प्रतियोगिताको पुरस्कार राशिमा समेत वृद्धि गरिएको छ । उपाधि विजेता टिमले एक करोड ५० लाख र उपविजेताले ८० लाख रुपियाँ पाउने छन् । यसै गरी तेस्रो हुने टोलीलाई ४० लाख र चौथो हुनेलाई ३० लाख रुपियाँ प्रदान गरिने छ । आउँदो मङ्सिर ५ सम्म सञ्चालन हुने प्रतियोगिताले नेपाली घरेलु क्रिकेटको स्तरलाई थप उचाइमा लैजाने अपेक्षा गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend