logo
  • शनिबार, कार्तिक ८ २०८३

आइसिसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेटका १५ खेल काठमाडौंमा हुने


  • पब्लिक सूचना
  • शनिबार, कार्तिक ८ २०८३

नेपाल र बंगलादेशले संयुक्त रूपमा आयोजना गर्ने आइसिसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेटका १५ खेल काठमाडौंमा हुने भएका छन्।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले बुधबार सार्वजनिक गरेको खेलतालिका अनुसार सन् २०२७ जनवरी २१ देखि फेब्रुअरी ६ सम्म सञ्चालन हुने प्रतियोगिताका कुल ४१ खेलमध्ये १५ खेल नेपालमा हुनेछन्।

May be an image of text

काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान र माथिल्लो मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यी खेल सञ्चालन हुनेछन्। कीर्तिपुरमा सात र मूलपानीमा आठ खेल हुने तालिका छ।

प्रतियोगितामा नेपालले साविक विजेता भारतसँग पनि घरेलु मैदानमै प्रतिस्पर्धा गर्नेछ। नेपाल र भारतबीचको खेल जनवरी २४ मा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ।

नेपाल समूह ‘ए’ मा भारत, वेस्ट इन्डिज र आयरल्यान्डसँग परेको छ।

नेपालले जनवरी २२ मा आयरल्यान्डसँग खेल्दै विश्वकप यात्रा सुरू गर्नेछ। त्यसपछि जनवरी २४ मा भारत र जनवरी २६ मा वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्नेछ। नेपालका तीनै समूह चरणका खेल कीर्तिपुरमा हुनेछन्।

भारतले पनि आफ्ना तीनै समूह चरणका खेल काठमाडौंमै खेल्नेछ। दुई पटकको विजेता भारतले जनवरी २२ मा वेस्ट इन्डिजविरूद्ध खेल्दै उपाधि रक्षाको अभियान सुरू गर्नेछ। त्यसपछि नेपाल र जनवरी २६ मा आयरल्यान्डसँग खेल्नेछ।

विश्वकपको उद्घाटन दिन जनवरी २१ मै काठमाडौंमा दुई खेल हुनेछन्। माथिल्लो मूलपानी मैदानमा श्रीलंका र स्कटल्यान्ड तथा इंग्ल्यान्ड र अमेरिकाबीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगितामा १६ देश सहभागी हुनेछन्। उनीहरूलाई चार समूहमा विभाजन गरिएको छ।

May be a graphic of text

समूह ‘बी’ मा दक्षिण अफ्रिका, न्युजिल्यान्ड, पाकिस्तान र सामोआ छन्। समूह ‘सी’ मा अस्ट्रेलिया, बंगलादेश, नाइजेरिया र संयुक्त अरब इमिरेट्स तथा समूह ‘डी’ मा इंग्ल्यान्ड, श्रीलंका, अमेरिका र स्कटल्यान्ड छन्।

समूह चरण जनवरी २६ सम्म चल्नेछ। प्रत्येक समूहबाट शीर्ष तीन टोली सुपर सिक्स चरणमा पुग्नेछन्। सुपर सिक्सका दुई समूहबाट शीर्ष दुई-दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्।

समूह चरणका १२ खेलसहित त्यसपछिका थप तीन खेल काठमाडौंमा हुनेछन्। तर सेमिफाइनल र फाइनल बंगलादेशमा आयोजना गरिनेछ।

दुवै सेमिफाइनल फेब्रुअरी ४ मा र फाइनल फेब्रुअरी ६ मा बंगलादेशको चटगाउँमा हुनेछ।

यू–१९ महिला टी–२० विश्वकपको यो तेस्रो संस्करण हो। यसअघि सन् २०२३ र २०२५ मा भएका दुवै संस्करण भारतले जितेको थियो।

नेपालले पहिलो पटक यस प्रतियोगिताको सहआयोजना गर्न लागेको हो। यसले नेपाली महिला क्रिकेट टोलीलाई घरेलु दर्शकको उपस्थितिमा विश्वका बलिया टोलीसँग प्रतिस्पर्धा गर्ने अवसर दिनेछ।

आइसिसीका प्रमुख कार्यकारी अधिकृत सञ्जोग गुप्ताले नेपाल र बंगलादेशलाई आयोजक छनोट गर्नु युवा क्रिकेटको विकासमा आइसिसीको लगानी र विश्वासको प्रतिबिम्ब भएको बताएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend