logo
  • मंगलबार, कार्तिक ११ २०८३

सगरमाथा चढेको ७३ वर्षपछि तेन्जिङको कथामा हलिउड फिल्म


  • पब्लिक सूचना
  • सोमबार, कार्तिक ३ २०८३

सन् १९५३ मे २९। संसारको सबभन्दा अग्लो हिमाल सगरमाथाको चुचुरोमा दुई जना मानिस पुगे। एक थिए, न्युजिल्यान्डका एडमन्ड हिलारी। अर्का थिए, अनुभवी हिमाली आरोही तेन्जिङ नोर्गे शेर्पा।

त्यो आरोहणले इतिहास रच्यो। विश्वभर सगरमाथा विजयका समाचार छापिए। हिलारी र तेन्जिङ दुवै संसारभर चर्चित भए।

तर सगरमाथा विजयको कथा पश्चिमी संसारमा प्रायः हिलारी र ब्रिटिस पर्वतारोहण अभियानको दृष्टिकोणबाट सुनाइयो।

तेन्जिङ पनि त्यही शिखरमा पुगेका थिए। हिलारीभन्दा धेरैअघि उनी हिमालमा रमाउन थालिसकेका थिए। वर्षौंसम्म विदेशी पर्वतारोहीहरूसँग हिमाल चढेका थिए। हिमाल चढ्ने बाटो पत्ता लगाउने, सामान ओसार्ने, जोखिमपूर्ण ठाउँ पार गर्ने काममा उनले लामो अनुभव बटुलेका थिए।

उनका लागि सगरमाथा हिमाल मात्र थिएन। धार्मिक आस्था र जीवनको सपनासँग पनि जोडिएको थियो।

त्यसो भए सगरमाथा विजयको कथा तेन्जिङकै दृष्टिकोणबाट सुनाउँदा कस्तो होला?

यही प्रश्नको जबाफ खोज्ने प्रयास गरेकी छन् अस्ट्रेलियाली फिल्म निर्देशक जेनिफर पिडमले।

उनले तेन्जिङ नोर्गेको जीवनमा आधारित फिल्म बनाएकी छन् — ‘Tenzing’ (तेन्जिङ)।

अक्टोबर ९ देखि अमेरिका र बेलायतका सीमित सिनेमाघरमा प्रदर्शन सुरू भएको यो फिल्म अक्टोबर १६ देखि एप्पलको स्ट्रिमिङ सेवा ‘एप्पल टिभी’ मा विश्वव्यापी रूपमा रिलिज भएको छ। नेपालबाट पनि यो फिल्म हेर्न सकिन्छ।

दुई घन्टा पाँच मिनेट लामो फिल्ममा तेन्जिङको भूमिका तिब्बती मूलका चिनियाँ अभिनेता गेन्डेन फुन्सोकले निर्वाह गरेका छन्। हिलारीको भूमिकामा प्रसिद्ध बेलायती अभिनेता टम हिडल्स्टन छन्।

सन् १९५३ को ब्रिटिस सगरमाथा अभियानका प्रमुख जोन हन्टको भूमिकामा हलिउड अभिनेता विलेम डाफो छन्।

नेपाली–तिब्बती अभिनेत्री थिन्ले ल्हामोले तेन्जिङकी पत्नी दावाको भूमिका निर्वाह गरेकी छन्।

फिल्मले सगरमाथा आरोहणको रोमाञ्च मात्र देखाउँदैन; तेन्जिङको बाल्यकाल, प्रेम, पारिवारिक जीवन, हिमाली समुदायमाथि हुने विभेद र एक आरोहीको जीवनभरको सपनालाई पनि कथामा समेटेको छ।

फिल्म सार्वजनिक भएपछि अन्तर्राष्ट्रिय समीक्षकहरूले यसबारे चर्चा थालेका छन्।

कतिपयले ऐतिहासिक रूपमा ओझेलमा परेका तेन्जिङलाई केन्द्रमा ल्याएको भन्दै फिल्मको प्रशंसा गरेका छन्। कतिपयले चाहिँ कथा राम्रो भए पनि तेन्जिङको जटिल जीवनलाई अपेक्षित गहिराइमा प्रस्तुत गर्न नसकेको टिप्पणी गरेका छन्।

फिल्म बनाउन  दुई दशक किन लाग्यो ?

निर्देशक जेनिफर पिडमको सगरमाथासँगको सम्बन्ध नयाँ होइन।

दुई दशकभन्दा अघि उनले एक पर्वतारोहण अभियानसँग जोडिएर हिमाली क्षेत्रको यात्रा गरेकी थिइन्।

त्यहाँ उनले विदेशी पर्वतारोही र स्थानीय शेर्पाहरूबीचको सम्बन्ध नजिकबाट देखिन्।

विदेशी आरोहीहरू सगरमाथा चढेर फर्केपछि उनीहरूको बहादुरीका कथा संसारभर फैलिन्थे। तर ती आरोहण सम्भव बनाउन जोखिमपूर्ण काम गर्ने शेर्पाहरूको योगदानले प्रायः कम चर्चा पाउँथ्यो।

यही अनुभवले उनलाई हिमाली समुदायको जीवन र पर्वतारोहण उद्योगबारे सोच्न प्रेरित गर्‍यो।

उनले सन् २०१५ मा ‘शेर्पा’ नामको वृत्तचित्र बनाइन्।

त्यस वृत्तचित्रले सगरमाथामा काम गर्ने शेर्पाहरूको श्रम, उनीहरूले बोक्ने जोखिम र विदेशी आरोहीहरूसँगको असमान सम्बन्धलाई केन्द्रमा राखेको थियो।

त्यसपछि उनलाई लाग्यो — सगरमाथा आरोहणसम्बन्धी यति धेरै फिल्म बनेका छन्, तर तेन्जिङ नोर्गेको आफ्नै कथा किन बनेको छैन?

अक्टोबर १३ मा प्रकाशित ‘भेराइटी इन्डिया’ सँगको अन्तर्वार्तामा पिडमले भनेकी छन्, ‘अधिकांश सगरमाथासम्बन्धी फिल्म र वृत्तचित्रले पश्चिमी आरोहीहरूको सफलता र हिमाल जित्ने प्रयत्नलाई केन्द्रमा राख्छन्। तर शेर्पाहरूको योगदान, जसबिना त्यस्ता आरोहण सम्भव हुँदैनन्, उनीहरूको कथा भने फिल्ममा प्राय: छुट्छ।’

यही कारण तेन्जिङको कथा सुनाउने निर्णय गरेको उनको भनाइ छ।

यसका लागि उनले तेन्जिङका छोरा नोर्बु तेन्जिङसँग सहकार्य गरिन्।

उनीहरूको सम्बन्ध ‘शेर्पा’ वृत्तचित्र निर्माणदेखिकै हो। नोर्बु अहिले ‘तेन्जिङ’ फिल्मका कार्यकारी निर्मातासमेत हुन्।

सेप्टेम्बरमा प्रकाशित ‘क्लाइम्बिङ’ पत्रिकाको अन्तर्वार्तामा नोर्बुले आफ्नो बाबुको कथा विश्वभर पुर्‍याउने चाहना लामो समयदेखिको भएको बताएका छन्।

उनका अनुसार फिल्ममार्फत संसारले सगरमाथाका प्रसिद्ध आरोही मात्र होइन, तिब्बतको हिमाली भेगमा चौंरीपालकको परिवारमा जन्मिएको एउटा साधारण मानिसको असाधारण जीवनबारे पनि थाहा पाउनेछ।

फिल्मको कथा तयार पार्दा बेलायती लेखक एड डगलसले सन् २००३ मा लेखेको ‘तेन्जिङ: हिरो अफ एभरेष्ट’ पुस्तकलाई प्रमुख आधार बनाइएको छ।

तेन्जिङ परिवारका सदस्यहरूको संस्मरण, पुराना अभिलेख र आरोहणसम्बन्धी विवरण पनि अध्ययन गरिएको निर्देशक पिडमले बताएकी छन्।

फिल्मको पटकथा लुक डेभिसले लेखेका हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend