logo
  • मंगलबार, असोज २७ २०८३

दुई सातापछि खुल्यो मालढुङ्गा पुल, सहज बन्दै यातायात


  • पब्लिक सूचना
  • सोमबार, असोज २६ २०८३

गलकोट (बागलुङ), असोज २६ गते । कालीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्‍याएपछि बन्द रहेको मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत र बागलुङ जोड्ने मालढुङ्गा पुल सोमबारदेखि सञ्चालनमा आएको छ ।

गत असोज ११ गते बाढीले पुलको पहुँच सडक बगाएपछि १६ दिनदेखि उक्त पुलमा सवारी आवागमन बन्द थियो । पहुँच सडक मर्मत गरेपछि पुल सञ्चालनमा आएको सडक डिभिजन कार्यालय, पोखराका इन्जिनियर ध्रुव पोखरेलले जानकारी दिनुभयो ।

पुल सञ्चालनमा आएसँगै बागलुङ हुँदै पश्चिमतर्फको सिधा यातायात सेवा पुनः सुरु भएको उहाँले बताउनुभयो । पुल अवरुद्ध हुँदा धवलागिरि क्षेत्रका विभिन्न जिल्लामा सवारी आवागमन प्रभावित बनेको थियो ।

चाडवाडको मुखमा मुख्य सडकमार्ग बन्द हुँदा सर्वसाधारणको दैनिकी कष्टकर बनेको थियो । यात्रुले महँगो भाडा तिरेर घुमाउरो वैकल्पिक सडकमार्ग प्रयोग गर्नुपर्ने बाध्यता थियो ।

ढुवानी प्रभावित हुँदा बजारमा मालसामानको मूल्यसमेत बढेको थियो । मालढुङ्गा पुल अवरुद्ध भएपछि लुम्बिनी र कर्णाली प्रदेशका पहाडी जिल्लाबाट बागलुङ हुँदै काठमाडौँसम्म सञ्चालन हुने बस सेवा ठप्प भएको थियो ।

यस अवधिमा साना सवारीसाधन पर्वतको दोबिल्लाबाट फलेवास, जैमिनीघाट हुँदै कालीगण्डकी करिडोर भएर बागलुङ भित्रिने गरेका थिए । केही सवारीसाधन मालढुङ्गाबाट म्याग्दीको बेनी बजार र रत्नेचौर हुँदै यात्रु लिएर बागलुङ पुग्ने गरेका थिए ।

मालढुङ्गानजिकै रहेको खनियाघाटको झोलुङ्गे पुलबाट पनि सर्वसाधारण आवतजावत गर्दै आएका थिए । साना सवारीसाधनमा खनियाघाट पुगेका यात्रु झोलुङ्गे पुल तरेपछि अर्को सवारीसाधन चढेर बागलुङ बजार पुग्ने गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend