पब्लिक सूचना
काठमाडौं । साउदी अरेबियाका निम्ति प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारविरुद्ध उजुरीकर्तासँगको छलफलपछि संसदीय सुनुवाइ समितिले दुई प्रमाण झिकाउने निर्णय गरेको छ । समिति बैठक सोमबार (असोज २६) सिंहदरबारमा बसेको थियो ।
प्रस्तावित राजदूतहरूविरुद्ध समितिले यसअघि उजुरी आह्वान गरेको थियो । एक महिलासँग सुनारको विवाहेतर सम्बन्ध र पटक–पटक र ‘टर्चर’ दिएको भन्दै उनकी साथीले उजुरी दिएकी थिइन् । समितिले यससम्बन्धी उजुरीकर्ता र पीडितसँगको छलफलपछि ललिलतपुर प्रहरीमा भएको मिलापत्रको प्रमाण माग्ने निर्णय गरेको छ ।
सुनार जर्मनीबाट ‘डिपोर्ट’ भए/नभएको विवरण परराष्ट्र मन्त्रालयमार्फत झिकाउने निर्णय पनि गरिएको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए ।
यही असोज २ गते बसेको मन्त्रिपरिषद्को बैठकबाट भारतका निम्ति डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, संयुक्त राज्य अमेरिकाका निम्ति चिरनजंग थापा, बेलायतका लागि गौरवशमशेर जंगबहादुर राणा, जर्मनीका निम्ति सरू जोशीलाई राजदूतमा सिफारिस गरिएको छ ।
यस्तै, इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका निम्ति प्राप्ति शेरचन, जापानका लागि जिज्ञानकुमार थापा, ओमानका निम्ति डा. पदमाक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका निम्ति प्रा.डा. संगम श्रेष्ठ, श्रीलंकाका लागि डा. मंचलाकुमारी झा र साउदी अरेबियाका निम्ति गिरीबहादुर सुनारलाई राजदूतमा सिफारिस गरिएको छ ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend