logo
  • बिहिबार, असोज २२ २०८३

नेप्सेमा ‘डेथ क्रस’ चल्दा बैंकिङ क्षेत्रमा ‘गोल्डेन क्रस’


  • पब्लिक सूचना
  • बिहिबार, असोज २२ २०८३

बुधबार सेयर बजारका सबै समूहगत सूचक घट्दा वाणिज्य बैंक सूचीकृत बैंकिङ समूहमा मात्रै सुधार भयो।

नेप्से ६ अंकले घटेर २५७२ मा आइपुग्दा बैंकिङ समूह मात्रै १.७३ अंकले बढेर १४९५ मा पुगेको छ।

एक दिनकै कारोबारको आधारमा नेप्से र बैंकिङ समूह विपरीत चालमा देखिएको मान्न सकिँदैन। तर यी दुई फरक सूचक फरक प्रवृत्तिमा रहेका प्राविधिक विश्लेषणका विभिन्न उपकरणले देखाइरहेका छन्। समग्र सेयर बजारको प्रवृत्ति कमजोर देखिइरहेका बेला वाणिज्य बैंक समूहको प्रवृत्ति तुलनात्मक रूपमा बलियो देखिएको हो।

किनभने केही समयअघि नेप्से परिसूचकमा डेथ क्रसओभर भएको थियो। हाल पनि नेप्से यही प्रवृत्तिमा छ। तर बैंकिङ समूहमा केही समयअघि गोल्डेन क्रसओभर भएर यो प्रवृत्तिमै अगाडि बढिरहेको छ। हिले क्रसओभरका बारेमा बुझौं। ५० दिन र २०० दिनको औसत सूचक शृंखलाका आधारमा यस्तो रेखा बनाइएको हुन्छ। यीमध्ये एक रेखाले अर्को रेखालाई काट्नुलाई क्रसओभर भनिन्छ।

यदि ५० दिने रेखा ओर्लिने क्रममा २०० दिने रेखालाई काटेर तल झरेमा त्यसलाई डेथ क्रसओभर भनिन्छ। त्यसैगरी, यदि तल आइपुगेको ५० दिने रेखाले उकालो लाग्ने क्रममा २०० दिने रेखालाई काटेर माथि गएमा गोल्डेन क्रसओभर भएको मानिन्छ।

डेथ क्रसओभरले बजारको बुलिस शक्ति क्षीण हुँदै गइरहेको संकेत गर्छ। बजारमा बियरिस प्रवृत्ति बलियो हुँदै गएको संकेत गर्छ। गोल्डेन क्रसओभरले बुलिस प्रवृत्ति बलियो रहेको संकेत गर्छ।

अन्तर्राष्ट्रिय बजारहरूमा पनि ५० र २०० दिने मुभिङ एभरेजको क्रसओभरलाई धेरैले बजारको प्रवृत्ति मूल्यांकन गर्ने प्रमुख आधारका रूपमै प्रयोग गर्छन्। अहिले नेप्से परिसूचकमा २०० दिने मुभिङ एभरेज ५० दिनेभन्दा माथि रहँदा वाणिज्य बैंक समूहको सूचकमा भने यसको ठिक उल्टो अवस्था देखिँदै आएको छ।

अहिले वाणिज्य बैंक सूचकको ५० दिने मुभिङ एभरेज २०० दिनेभन्दा माथि छ। त्यति मात्रै होइन, यो सूचक दुवै मुभिङ एभरेज रेखाभन्दा माथि छ। यसले पछिल्लो समय बैंकिङ समूह समग्र बजारको तुलनामा बलियो रहेको संकेत गर्छ।

बैंकिङ समूह २०८२ फागुनमा १३५० को विन्दुबाट बढ्ने क्रममा रह्यो। त्यसको केही समयपछि नै यसमा गोल्डेन क्रस‌ओभर देखियो। त्यसयता यो समूह बुलिस प्रवृत्तिमै छ। समूहको कारोबार रकम पनि वृद्धि भएको छ।

सो समय १५६० आसपास रहे पनि पछिल्लो केही समययता यो समूहले १५०० विन्दुमा प्रतिरोध परीक्षण गरिरहेको छ। वाणिज्य बैंकहरूमा धेरैले लाभांश दिइसकेकाले आगामी दिनमा समग्र बजारमा पर्ने प्रभाव यो समूहमा पनि पर्न सक्छ। यता नेप्से २०८२ फागुनपछि बढ्ने क्रममा रह्यो र केही समयमै गोल्डेन क्रसओभर भयो। गत साउनमा प्रवृत्ति परिवर्तन भएर डेथ क्रसओभर देखियो।

यसलाई हेर्दा अहिले बैंकिङ समूह समग्र बजारभन्दा तुलनात्मक रूपमा बलियो प्रवृत्तिमा देखिन्छ।

यद्यपि, मुभिङ एभरेज विगतको तथ्यांकमा आधारित हुने भएकाले यसले केही ढिलो संकेत दिन्छ। त्यसैले यसलाई मात्र आधार बनाएर बैंकिङ समूहको आगामी दिशा निर्धारण गर्न सकिँदैन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend