१८ असोज, कठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेश आज आइतबारबाट सुरु हुँदैछ। महाधिवेशनस्थल काठमाडौंको खुलामञ्ज सजाइएको छ । महाधिवेशन स्थलमा प्रतिनिधिहरू आउनेक्रम जारी छ ।
उम्मेदवारी घोषणा गरेकाको समर्थक तथा प्रतिनिधिले भोटसमेत मागिरहेका छन् । कांग्रेस महाधिवेशनको उद्घाटन सत्र २ बजेका लागि तय गरिएको छ । उद्घाटनका लागि अन्य राजनीतिक दलका प्रमुखदेखि विभिन्न देशका प्रतिनिधिहरू खुलामञ्ज पुग्दैन् ।
महाधिवेशको सुरक्षाका लागि ठूलो संख्यामा प्रहरी परिचालन भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेका अनुसार ७ सय प्रहरी परिचालन गरेर सुरक्षा प्रदान गरिएको छ ।
जहाँ सादा पोशाकका प्रहरीदेखि युनिफर्म प्रहरीसम्म परिचालन भएका हुन् । त्यसैगरी ड्रोनबाट समेत निगरानी गरिएको उनले बताए । यसका साथै प्रहरीका तालिमप्राप्त कुकुर पनि परिचालन गरिएको छ । डग स्निफिङमार्फत निगरानी गर्ने काम पनि भएको छ ।
नगर प्रहरीको कमाण्डमा कमाण्ड पोस्ट नै स्थापना गरेर सुरक्षा प्रदान गरिएको छ । ट्राफिकसँग समन्वय गरेर ट्राफिक व्यवस्थापनको काम पनि गरिएको प्रहरीले बताएको छ ।आयोजकहरुले पनि शान्तपूर्ण तरिकारले बिना तडक भडक महाधिवेश सम्पन्न गर्ने बताएका छन् ।