पब्लिक सूचना
काठमाडौँ । काठमाडौँको थापाथलीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
गएराति करिब ११:४५ बजे शंखमुलबाट थापाथली बिटतर्फ आउँदै गरेको बा ४१ प ४७०८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलको रेलिङमा ठोक्किएको थियो। त्यसपछि उक्त मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०२०६२ प ९६३१ नम्बरको स्कुटरमा समेत ठोक्किन पुगेको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी मृत्यु हुनेमा मोटरसाइकल चालक रौतहट कटहरिया नगरपालिका-२ घर भएका २६ वर्षीय चन्द्र मान दास तत्मा रहेका छन्। टाउकोमा गम्भीर चोट लागेका उनको अन्नपूर्ण न्युरो अस्पतालमा उपचारका क्रममा राति १:१० बजे मृत्यु भएको हो।
दुर्घटनामा मोटरसाइकल पछाडि सवार रौतहट कटहरिया-२ का दीपेन्द्र दास गम्भीर घाइते भएका छन्। उनको टाउको र अनुहारमा चोट लागेको छ र उनी बोल्न नसक्ने अवस्थामा अन्नपूर्ण न्युरो अस्पतालमा उपचाररत छन्।
स्कुटर चालक चितवन घर भई हाल सतुङ्गल बस्ने सुदिप श्रेष्ठ (२३ वर्ष)को खुट्टामा सामान्य चोट लागेको छ। उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
स्कुटर पछाडि सवार सर्लाही घर भई हाल शंखमुल बस्ने मोहन शाह (३४ वर्ष)को दायाँ खुट्टामा सामान्य चोट लागेको छ। उनको पनि राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। प्रहरीका अनुसार मोटरसाइकल पछाडि सवार यात्रु र स्कुटर पछाडि सवार यात्रु दुवैले मादक पदार्थ सेवन गरेको पाइएको छ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend