पब्लिक सूचना
१२ असोज, पोखरा । मनाङको सदरमुकाम चामे आसपासका स्थानीय खोलामा बाढी र मर्स्याङ्दी नदी थुनिएपछि डरले जंगल, सामुदायिक भवन र ब्यारेकमा रात बिताएका चामेवासी बिहान मौसम खुलेसँगै घर फर्किइरहेका छन् ।
आइतबार ठाडो खोला र खट्टे खोलामा बाढी आएर कटान तथा घर, पुल, सडकमा क्षति पुर्याएको थियो ।
साँझ ठाडो खोलामा पहिरो खसेर आएको लेदो र हिलोले मर्स्याङ्दी नदी नदी थुनिँदा स्थानीय त्रसित बनेका थिए ।
गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर घलेका अनुसार शनिबार चामेमाथि जंगलमा जाग्राम बसेर रात कटाएका चामेबासी सोमबार भने केही जंगलमै त केही सामुदायिक भवन र केहीले नयाँ भैरवी गणमा बसेर रात बिताएर फर्किएका छन् ।
‘खोलामा बाढी आउने, मस्र्याङ्दी थुनिने हुँदा सबै चामेबासीको भागाभाग भयो । धेरै जना जंगलमा बसे, कोही ब्यारेकमा बसेर फर्र्किए, अहिले अवस्था सामान्य हुँदै छ’, गाउँपालिका अध्यक्ष घलले भने, ‘केही घर त २, ४ घर त मस्र्याङ्दीले डुबानमा पारिरहेकै छ ।’
अहिले बिहानैदेखि मनाङको आकास पनि खुलेको छ । कालो बादलको टुक्रासमेत नदेखिएको मनाङका सहायक सीडीओ कृष्णप्रसाद पौडेलले बताए ।
‘कोही जंगल, कोही सिटी हल त कोही ब्यारेकमा बास बसेर फर्कियौं । सरकारले बेलैमा सचेत गराएका कारण नागरिक पनि बेलैमा सतर्क भएर सुरक्षित ठाउँमा लागे । सिटी हलतिर गाउँपालिका अध्यक्ष र ब्यारेकमा हामीले चाउचाउ, बिस्कुल ल्याएर राति खाएर बस्यौं’, सहायक सीडीओ पौडेलले भने, ‘बिहान सबै मौसम खुलेको छ । स्थानीय खोलामा बाढी रोकिएको छ र मानिसहरु घर फर्किएका छन् ।’
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend