पब्लिक सूचना
काठमाडौँ । हालै भोटेकोशी बाढीले निम्त्याएको महाविपत्तिमा अतुलनीय साहस देखाएर उद्धार, राहत तथा मानवीय सहयोग गर्ने व्यक्तिलाई प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले सम्मान गरेको छ ।
प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको ४७ औँ वार्षिक साधारण सभा तथा ५१ औँ वार्षिकोत्सव समारोह ‘रेजिलियन्ट नेपाल’ भन्ने मूल नाराका साथ आयोजित विशेष समारोहमा बाढीपछिको उद्धार र पर्यटन पुनरुत्थानमा महत्वपूर्ण भूमिका खेल्ने ७ जनालाई विशेष सम्मान गरिएको हो ।
सम्मानित हुने व्यक्तिहरुमा अन्तर्राष्ट्रिय सुरुङ तथा भूमिगत संरचना विशेषज्ञ अस्ट्रेलियन प्राध्यापक आर्नल्ड डिक्स, नेपालकी पहिलो महिला हेलिकप्टर क्याप्टेन, प्रिया अधिकारी, ग्लोबट्रटरका लेखक तथा अध्यक्ष आन्द्रे लुथी, वल्र्ड सेन्ट्रल किचन डिलन डुगास, त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडी, नेपाल पर्वतारोहण संघका पर्वतीय उद्धार संयोजक विक्रम कार्की, होरस डेभलपमेन्ट एण्ड कन्सल्टिङकी गन्तव्य रणनीतिकार चोय तेह छन् ।
महाविपत्तिमा यी व्यक्तित्वहरुले देखाएको शाहस, वीरता र मानवताले नेपालको पर्यटन उद्योगलाई कठिन घडीमा आशा जगाएको भन्दै कार्यक्रममा प्रशंसा गरिएको थियो ।
महाविपत्तिको समयमा बाढीमा फसेका व्यक्तिहरुको उद्धार तथा प्रभावित समुदायको मानवीय हितका लागि यी नायकहरुले पुर्याएको योगदानको उच्च कदर गर्दै पाटा नेपाल उच्च सम्मान गर्दै कदरपत्र प्रदान गरेको थियो ।
पाटाका नवनिर्वाचित अध्यक्ष नरेन्द्रदेव भट्टले पर्यटन पुनरुत्थान गर्न, प्रभावित समुदायलाई सहयोग गर्न तथा नेपालको पर्यटन उद्योगलाई अघि बढाउन काम गर्न उत्सुक भएको बताए ।
पाटाका निवर्तमान अध्यक्ष खेम लकाईले नेपालको पर्यटन क्षेत्रका सम्पूर्ण सदस्य तथा सरोकारवालाहरुलाई निरन्तर सहकार्य र सहयोगका लागि धन्यवाद व्यक्त गर्दै देशमा पर्यटनको छिटो पुनरुत्थान तथा दिगो विकासका लागि संयुक्त रुपमा मिलेर काम गर्न सबैलाई आह्वान गरे ।
साधारण सभाले स्क्वायर होटलकी प्रबन्ध निर्देशक रोमी अर्याललाई महासचिव र अल्पाइन रेस्क्यु सर्भिसका अध्यक्ष प्रकाशचन्द्र लोहनीलाई मानार्थ कोषाध्यक्षमा निर्वाचित गरेको छ ।
कार्यसमितिका अन्य निर्वाचित सदस्यहरुमा विजय श्रेष्ठ (भाइस प्रेसिडेन्ट, हिमालय एयरलाइन्स), सुमन घिमिरे (कार्यकारी निर्देशक, जंगल सफारी लज प्रा. लि.), सुनीलबहादुर भट्टराई (कार्यकारी निर्देशक, बिजी बी क्याफे), माया शाक्य (निर्देशक, सेल्स एन्ड मार्केटिङ, पार्क भिलेज होटल एन्ड रिसोर्ट), सरिता लामा (प्रबन्ध निर्देशक, अफ द वाल ट्रेकिङ प्रा. लि.), सिद्धार्थविक्रम थापा (प्रबन्ध निर्देशक, मार्कोपोलो ट्राभल्स) र बासुदेव ढुंगाना (प्रबन्ध निर्देशक, बनबास चितवन) रहेका छन् ।
यसैगरी, कार्यसमितिमा दिनेश महर्जन (प्रमुख कार्यकारी अधिकृत, हाइग्राउन्ड एड्भेन्चर नेपाल), जान विश्वकर्मा (कार्यकारी निर्देशक, खुम्बिला होटल), सञ्जयभक्त माथेमा (अध्यक्ष, गो ट्राभल्स नेपाल), अंकित शर्मा (महाप्रबन्धक, दुसित थानी हिमालयन रिसोर्ट), बसन्त गौतम (अध्यक्ष, टेम्पल ट्री रिसोर्ट), प्रकाश लामा (प्रबन्ध निर्देशक, मेगा ट्रेक्स एन्ड एक्सपेडिसन) र सुमन महर्जन (महाप्रबन्धक, द प्लाजा) गरी सात जना प्रोक्सी सदस्य निर्वाचित भएका छन् ।
पाटा नेपालको कार्यसमितिमा सार्वजनिक क्षेत्रबाट प्रतिनिधित्व गरी प्रथम उपाध्यक्षमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत; द्वितीय उपाध्यक्षमा नेपाल एयरलाइन्सका मार्केटिङ निर्देशक; तथा चार जना पदेन सदस्यमा पर्यटन विभागका महानिर्देशक, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक, नेपाल एयरलाइन्सका कर्पोरेट निर्देशक र नेपाल पर्यटन बोर्डका एक प्रतिनिधि समेत गरेर छ जना सदस्य रहने प्रावधान छ ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend