पब्लिक सूचना
काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको शीतल बजारस्थित क्षतिग्रस्त सडक खण्डमा नेपाली सेनाको सहयोगमा कडा चट्टान फुटाएर दुईतर्फी यातायात सञ्चालनमा ल्याइएको छ ।
गत २०८३ साल भाद्र १४ गते त्रिशूली नदीमा आएको बाढीले कटान गर्दा उक्त सडक क्षतिग्रस्त भई एकतर्फी रूपमा मात्र सञ्चालन हुँदै आएको थियो । सडकलाई पुनः सहज र दुईतर्फी बनाउनका लागि भित्तातर्फ रहेको करिब ५५ मिटर लामो कडा चट्टान हटाउने कार्य सफलतापूर्वक सम्पन्न भएको नागढुंगा–मुग्लिङ सडक योजनाले जनाएको छ ।
नेपाली सेनाको प्राविधिक सहयोगमा ड्रिलिङ तथा विस्फोटक पदार्थको प्रयोग गरी भाद्र २६ गतेदेखि असोज ७ गतेसम्म कुल २१ पटक चट्टान विस्फोट गराइएको थियो । १३ दिनसम्म निरन्तर उच्च जोखिमका बिच अहोरात्र खटिएर सेनाले चट्टान हटाएपछि हाल उक्त सडक खण्ड सहज, सुरक्षित तथा दुईतर्फी सवारी सञ्चालनका लागि योग्य बनेको छ ।
जोखिमपूर्ण कार्य सफलतापूर्वक सम्पन्न गरेकोमा सडक योजनाले कार्यक्षेत्रमा प्रत्यक्ष खटिने नेपाली सेना तथा प्राविधिक टोलीप्रति हार्दिक धन्यवाद एवं आभार व्यक्त गरेको छ ।
साथै, विपद्को समयमा छोटो अवधिमै आवश्यक सहजीकरण गरिदिने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, जिल्ला सुरक्षा समिति धादिङ तथा कार्य अवधिभर धैर्य र संयमता अपनाउने सम्पूर्ण यात्रु, सवारी चालक र स्थानीयवासीहरूलाई पनि योजनाको तर्फबाट धन्यवाद ज्ञापन गरिएको छ
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend