logo
  • शनिबार, असोज १७ २०८३

इरानको जीडीपी १०.१ प्रतिशतले खुम्चियो, तेल–ग्यास क्षेत्र २६.४ प्रतिशत घट्यो


  • पब्लिक सूचना
  • मंगलबार, असोज ६ २०८३

तेहरान । अमेरिका–इजरायलसँगको युद्धका कारण इरानको अर्थतन्त्रमा धक्का लागेको छ । सरकारी तथ्यांकअनुसार चालु फारसी क्यालेन्डरको पहिलो त्रैमासिकमा इरानको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) अघिल्लो वर्षको सोही अवधिको तुलनामा १०.१ प्रतिशतले घटेको छ ।

यो अवधिले गत फेब्रुअरी २८ मा सुरु भएको अमेरिका–इजरायल युद्धका सुरुआती महिनालाई समेट्छ । युद्धका क्रममा इरानको अर्थतन्त्रमा सबैभन्दा ठुलो असर देशको महत्त्वपूर्ण तेल तथा ग्यास क्षेत्रमा परेको छ ।

इरानको तथ्याङ्क केन्द्रले सार्वजनिक गरेको तथ्यांकअनुसार मार्च २१ देखि जुन २० सम्मको अवधिमा कच्चा तेल तथा प्राकृतिक ग्यास क्षेत्र २६.४ प्रतिशतले खुम्चिएको छ । तेल क्षेत्रलाई बाहिर राखेर हेर्दा इरानको जीडीपीमा गिरावट ४.६ प्रतिशत रहेको छ ।

अर्थतन्त्रका अन्य क्षेत्रमा पनि गिरावट देखिएको छ । उद्योग तथा खानी क्षेत्र १४.७ प्रतिशत, सेवा क्षेत्र ४.८ प्रतिशत र उत्पादनमूलक उद्योग २.५ प्रतिशतले घटेका छन् । कृषि क्षेत्र भने अपवाद बनेको छ । उक्त अवधिमा कृषि क्षेत्र २.३ प्रतिशतले वृद्धि भएको तथ्याङ्कमा उल्लेख छ ।

तेल निर्यातमा ठुलो गिरावट

इरानको अर्थतन्त्रमा आएको सङ्कुचनको प्रमुख कारणमध्ये तेल निर्यातमा आएको ठुलो गिरावट पनि हो । अमेरिकी नौसैनिक नाकाबन्दीका कारण इरानको कच्चा तेल बिक्री गर्ने क्षमता निकै सीमित भएको छ ।

पछिल्ला डाटा अनुसार इरानको कच्चा तेल र कन्डेन्सेटको दैनिक लोडिङ मार्चमा करिब २० लाख ब्यारेल रहेकोमा जुलाईमा घटेर करिब ७ लाख ४० हजार ब्यारेल र अगस्टमा २ लाख २० हजारदेखि २ लाख ५५ हजार ब्यारेल प्रतिदिनमा झरेको थियो ।

ट्यांकरट्र्याकर्स डटकमका अनुसार ३६.११ मिलियन ब्यारेल कच्चा तेल बोकेका २९ वटा ट्यांकर स्ट्रेट अफ होर्मुजमा रोकिएका थिए । भोर्तेक्साका अनुसार जुलाईको अन्त्यमा समुद्रमा रहेका इरानी कच्चा तेलको कुल मात्रा १३५ मिलियन ब्यारेल रहेकामा अगस्टको अन्त्यसम्म घटेर १०७ मिलियन ब्यारेलमा आएको थियो ।

महँगी र मुद्रा अवमूल्यनको दबाब

युद्ध सुरु हुनुअघि नै इरानको अर्थतन्त्र दबाबमा थियो । पछिल्लो १२ महिनाको औसत मुद्रास्फीति दर ६९.९ प्रतिशत पुगेको थियो । खाद्यान्न, पेय पदार्थ र सुर्तीजन्य वस्तुको मूल्यवृद्धि भने त्यसको झन्डै दोब्बर दरमा भएको थियो ।

वसन्त ऋतुमा आधिकारिक बेरोजगारी दर बढेर ९.१ प्रतिशत पुगेको थियो ।

इरानी मुद्रा रियाल पनि तीव्र रूपमा कमजोर भएको छ । एक वर्षअघि एक अमेरिकी डलर बराबर करिब १० लाख रियाल रहेकामा सेप्टेम्बरको सुरुआतमा डलरको मूल्य २२ लाख रियालभन्दा बढी पुगेको थियो ।

व्यापारमा पनि ठुलो असर

युद्धका कारण इरानको अन्तर्राष्ट्रिय व्यापारसमेत प्रभावित भएको छ । राष्ट्रपति मसुद पेजेस्कियनका अनुसार सेप्टेम्बर ६ सम्ममा इरानको कुल व्यापार २५ देखि ३५ प्रतिशतसम्म घटेको थियो । आयातमा परेको असर निर्यातको तुलनामा अझ ठुलो थियो ।

स्ट्रेट अफ होर्मुजमा अमेरिकी नाकाबन्दीका कारण आयात बोकेका जहाजलाई इरानी बन्दरगाहसम्म पुग्न कठिन भएको छ ।

इरानले युद्ध अन्त्यसँगै आर्थिक राहतलाई पनि जोडेको छ । इरानका सुरक्षा प्रमुख मोहसेन रेजाइले युद्ध अन्त्यका लागि इरानका सर्तमा ‘रोक्का गरिएको इरानी रकम फुकुवा’ र ‘नौसैनिक नाकाबन्दी अन्त्य’ समावेश रहेको बताएका छन् ।

अमेरिकाले इरानमाथि आर्थिक दबाबसमेत बढाएको छ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले गत महिना इरानका विश्वभरका आर्थिक तथा वित्तीय हितलाई लक्षित गर्ने अभियान घोषणा गरेका थिए ।

इरानको तेललगायत आम्दानीका सबै स्रोतलाई लक्षित गरी अन्य देश तथा कम्पनीलाई तेहरानसँग कारोबार गर्न निरुत्साहित गर्ने अमेरिकी नीति रहेको बताइएको छ ।

अमेरिकाको आर्थिक दबाबले कस्तो असर पारेको छ ?

बजार विश्लेषक क्रिस बिच्याम्पका अनुसार अधिकांश युद्धमा सैन्य शक्तिभन्दा पनि लामो समयसम्म दबाब सहन सक्ने क्षमताले ठुलो भूमिका खेल्छ ।

उनका अनुसार इरानको जीडीपीमा आएको १० प्रतिशतको गिरावटले अमेरिकाको दबाब अभियानले इरानी अर्थतन्त्रमा असर गरिरहेको संकेत गर्छ । तर मुख्य प्रश्न इरानले आर्थिक गतिविधिमा आएको गिरावटलाई अमेरिकाले ऊर्जा लागतमा आएको वृद्धिलाई जति समय सहन सक्छ, त्यसभन्दा बढी समय सहन सक्छ कि सक्दैन भन्ने रहेको उनको विश्लेषण छ ।

यद्यपि इरानी सरकारको आर्थिक दबाब सहने क्षमता केवल आर्थिक तथ्यांकबाट मात्र निर्धारण नहुने विश्लेषण पनि गरिएको छ । इरानी सुरक्षा संयन्त्र सरकारप्रति वफादार रहुन्जेल आर्थिक क्षतिले राजनीतिक निर्णयमा सीमित प्रभाव पार्न सक्ने विश्लेषकहरूले बताएका छन् ।

युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास

लगभग सात महिनादेखि जारी युद्ध अन्त्य गर्न कूटनीतिक प्रयास पनि भइरहेका छन् । इरानले अमेरिकाको सैन्य तथा आर्थिक दबाबको प्रतिरोध गरिरहेको भए पनि वार्तामार्फत युद्ध अन्त्य गर्ने सम्भावनालाई पूर्ण रूपमा अस्वीकार गरेको छैन ।

शनिबार रेजाइले कतारका मध्यस्थमार्फत अमेरिकासमक्ष युद्ध अन्त्यका लागि इरानले औपचारिक सर्त पठाएको बताएका थिए ।

यसैबीच, पाकिस्तानी गृहमन्त्री मोहसिन नक्वी तेहरान जाने तयारीमा रहेको इरानी सरकारी सञ्चारमाध्यम आईआरएनएले जनाएको छ । भ्रमणको उद्देश्य र मिति भने स्पष्ट पारिएको छैन ।

कतार र पाकिस्तानले अमेरिका र इरानबीच वार्ता पुनः सुरु गराउने प्रयास गरिरहेका छन् । दुई देशबिचको समझदारी पत्र गत महिना समाप्त भएपछि मध्यस्थहरूले वार्ता पुनः अघि बढाउने प्रयास गरिरहेका हुन् ।

इरानी विदेशमन्त्री अब्बास अराघ्ची पनि संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्यूयोर्क जाने क्रममा कतारमा छोटो समय रोकिने आईआरएनएले जनाएको छ ।

इरान र अमेरिकाबिच आगामी दिनमा वार्ताको सम्भावना भने खुलै रहेको देखिन्छ । रिपब्लिकन रणनीतिकार तथा ह्वाइट हाउस र राष्ट्रिय सुरक्षा मामिलाका पूर्व अधिकारी मार्क फाइफ्लेका अनुसार दुवै पक्ष अझै सम्झौताको सम्भावना खोजिरहेका छन् ।

उनले इरानले वार्ताका लागि राखेका पछिल्ला सर्तमा नाकाबन्दी अन्त्य, रोक्का गरिएको रकम फुकुवा र आक्रमण रोक्ने विषय समावेश भए पनि क्षतिपूर्ति तथा पुनर्निर्माणका लागि रकमको माग उल्लेख नगरेको बताए । उनका अनुसार यसले कडा बयानबाजीबिच पनि दुवै पक्ष आगामी साताहरूमा वार्ताका लागि केही ठाउँ खोजिरहेको संकेत गर्न सक्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend