पब्लिक सूचना
काठमाडौँ, असोज ४ गते । साझा यातायातले काठमाडौँ उपत्यकामा रात्रिकालीन बससेवा विस्तार गरेको छ । संविधान दिवसकोअवसरमा काठमाडौँ र ललितपुर महानगरपालिका, चन्द्रागिरि, कीर्तिपुर, गोदावरीलगायतका क्षेत्रमा नौ वटा नगरपालिकाको सहकार्यमा साझा यातायातले शनिबारदेखि रात्रिकालीन बससेवा विस्तार गरेको हो ।
विस्तार गरिएका नयाँ रुट नागढुङ्गा–एयरपोर्टमा चार, गोदावरी बुढानीलकण्ठमा छ, जगाती–रत्नपार्क–ठमेलमा छ, कीर्तिपुर–रत्नपार्क चार र चक्रपथमा आठ वटा रात्रिकालीन विद्युतीय बस थप गरिएको हो ।
उक्त बसहरू राति १२ बजेसम्म सञ्चालन हुने साझा यातायातका प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र अर्यालले जानकारी दिनुभयो । रात्रिकालीन बससेवा विस्तार कार्यक्रममा काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले भन्नुभयो, “काठमाडौँ उपत्यका दिउँसो मात्र होइन रातमा पनि चलायमान छ । स्थानीय सरकारको जिम्मेवारी वहन गर्न पनि रात्रिकालीन बससेवा विस्तार गरेका हौँ । उपत्यकाभरि नै सञ्चालन गर्ने छौँ ।”
कार्यक्रममा ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले काठमाडौँ उपत्यकामा मेट्रो सञ्चालन गर्न आफू लागिरहेको बताउनुभयो । साझा यातायातले आफ्ना सबै बसमा डिजिटल टिकट प्रणाली पनि लागु गरेको छ । यात्रुले क्युआर कोड र फोन पेबाट भाडा भुक्तानी गर्न सक्ने छन् ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend