पब्लिक सूचना
काठमाडौँ, साउन १५ गते । शृङ्खलाबद्ध कन्सर्ट प्रस्तुत गर्न लोकरक ब्यान्ड नेपथ्य जापानतर्फ प्रस्थान गर्ने भएको छ । यसपालि राजधानी टोकियोमा पहिलो कन्सर्ट दिएपछि लगत्तै फुकुओका र ओसाका सहरका मञ्चमा आफूलाई उभ्याउने हिसाबले १४ सदस्यीय टोली अगस्त महिनाको पहिलो साता त्यसतर्फ प्रस्थान गर्न लागेको हो ।
नेपथ्यले टोकियो स्थित ‘तोयोसु पिट’ मा अगस्त ८ तारिखका दिन आफूलाई प्रस्तुत गर्ने छ । त्यसै गरी ब्यान्डले अगस्त १२ तारिखका दिन ‘फुकुओका सिभिल हल’ र अन्तिममा अगस्त १७ तारिखका दिन ओसाकास्थित ‘नाम्बा ह्याच’ मा नेपाली लोकरक गुञ्जाउने छ ।
जापानसँग धेरै सम्झना जोडिएका छन्, ब्यान्डका अगुवा एवं मुख्य गायक अमृत गुरुङ भन्नुहुन्छ, “जापानसँग जोडिएका मिठा यादमध्ये केही वर्षअघि टोक्यो डोममा हामीले पाएको भव्य मायाको अनुभूति पनि हाम्रा लागि अविस्मरणीय रहेको छ ।” आफूहरू जुनसुकै परिस्थिति र स्वरूपमा पुग्दा पनि जापानका दर्शकले नेपथ्यलाई सदैव न्यानो हृदयका साथ स्वागत गर्दै आएको अमृतले बताउनुभयो ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend