पब्लिक सूचना
साउन २९ गते । बिहीबार राति परेको अविरल वर्षाका कारण जाजरकोटको नलगाड नगरपालिका–१० मा तासुघाट खोलामा आएको बाढीले चारवटा घर, एउटा खाजा पसल र एउटा झोलुङ्गे पुल बगाएको छ। घटनामा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। बाढीका कारण भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
घटनास्थलमा उद्धार तथा क्षतिको विवरण सङ्कलनका लागि सशस्त्र प्रहरी बल नेपाल, अस्थायी मनसुन विपद् व्यवस्थापन बेस दल्ली, जाजरकोट र नेपाल प्रहरीको संयुक्त टोली खटिएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
यसैबिच, आज बिहान ५ः१५ बजे बाजुराको त्रिवेणी नगरपालिका–९ स्थित ताम्सुमा वर्षाका कारण पहिरो खस्दा दुईवटा घर बगाएको थियो। पहिरोमा परी एक जना बेपत्ता र दुई जना घाइते भएको खबर प्राप्त भएपछि सशस्त्र प्रहरी बल नेपाल, गुल्म बाजुराबाट उद्धार टोली खटिएको थियो।
उद्धार टोलीले बिहान ८ः१५ बजे बेपत्ता हुनुभएको सोही ठाउँकी २० वर्षीया प्रतीक्षा थापाको शव फेला पारेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो। घटनामा भएको अन्य क्षतिको विवरण आउन बाँकी रहेको उहाँले बताउनुभयो।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend