logo
  • शनिबार, असोज १७ २०८३

हुलाकमार्फत करिब १० हजारले घरदैलोमै सेवा पाएको सरकारी दाबी


  • पब्लिक सूचना
  • बिहिबार, साउन २८ २०८३

काठमाडौँ । हुलाक सेवालाई आधुनिक, प्रविधिमैत्री र नागरिकमैत्री बनाई  ‘सरकारी कुरियर सेवा’ का रूपमा विकास गर्ने अभियानले गति लिएको सरकारी पक्षले दाबी गरेको छ । पछिल्लो समय सरकारी कागजात तथा सामग्री ढुवानीसँगै राहदानी, सवारी चालक अनुमतिपत्र, शैक्षिक प्रमाणपत्रलगायत सेवा नागरिकको घरदैलोसम्म पुर्‍याउने व्यवस्था कार्यान्वयनमा आएपछि हुलाक सेवाको प्रयोग विस्तार हुँदै गएको हो ।

नयाँ सरकार गठनपछि मन्त्रिपरिषद्को पहिलो निर्णयबाट कार्यान्वयनमा ल्याइएको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ तथा सूचना तथा सञ्चार मन्त्रालयको कार्यक्षेत्रअन्तर्गतका प्रमुख १० कार्यमध्ये हुलाकलाई सरकारी सामग्री तथा कागजात ढुवानी सेवाका रूपमा विकास गर्ने लक्ष्यअनुसार हालसम्म उल्लेखनीय प्रगति भएको हुलाक सेवा विभागले जनाएको छ ।

हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीका अनुसार हालसम्म हुम्लाबाहेक अरु सबै जिल्लामा सरकारी कागजात घरमै पुर्‍याउने सरकारको योजना लागु भइसकेको छ । हुम्लामा यो सेवा कार्यान्वयनको अन्तिम तयारी भइरहेको उनको भनाइ छ ।

सरकारी सेवा नागरिकको घरदैलोमै पुर्‍याउने उद्देश्यले हुलाक सेवालाई आधुनिकीकरण गर्दै राहदानी, नागरिकताको प्रतिलिपि, सवारी चालक अनुमति पत्र, शैक्षिक प्रमाणपत्र तथा अन्य सरकारी कागजात र सामग्री घरघरमै पुर्‍याउने व्यवस्था सफल रूपमा कार्यान्वयन भइरहेको महानिर्देशक पङ्गेनीले बताएका छन् ।

हुलाक सेवा विभागका अनुसार २०८३ साउन २७ गतेसम्म ७६ जिल्लाका जिल्ला प्रशासन कार्यालयमा दुई लाख ४७ हजार ४३ थान राहदानी हुलाकमार्फत ढुवानी गरिएको छ । तीमध्ये आठ हजार ६६९ थान राहदानी सेवाग्राहीको घरदैलोमै पुर्‍याएर वितरण गरिएको छ । त्यसैगरी, सवारी चालक अनुमति पत्रतर्फ यातायात व्यवस्था विभागबाट प्राप्त १० लाख ३८ हजार ८०८ थान अनुमति पत्र सातै प्रदेशका यातायात व्यवस्था कार्यालयमा हुलाकमार्फत पुर्‍याइएको छ । तीमध्ये एक हजार ९९ थान अनुमति पत्र सेवाग्राहीको घरदैलोमै पुर्‍याइएको विभागले जनाएको छ ।

सवारी चालक अनुमति पत्र घरदैलोमै पुर्‍याउने उद्देश्यले कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय र हुलाक निर्देशनालय, सुर्खेतबिच समझदारी पत्रमा हस्ताक्षर भई सेवा सुरु भइसकेको छ । सुदूरपश्चिम प्रदेशमा पनि यस्तै सेवा विस्तार गर्न छलफल भइरहेको विभागले जनाएको छ ।

शैक्षिक प्रमाणपत्र घरदैलोमै पुर्‍याउने व्यवस्थाअन्तर्गत नेपाल खुला विश्वविद्यालय र हुलाक सेवा विभागबिच गत असार ८ गते सम्झौता भई सेवा कार्यान्वयनमा आएको थियो । त्रिभुवन विश्वविद्यालयसँग पनि यस्तै सम्झौताका गर्नका लागि छलफल भइरहेको छ ।

स्वास्थ्य क्षेत्रमा पनि हुलाक सेवाको प्रयोग विस्तार भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगको सम्झौताअनुसार १७ वटा अस्पतालका एक हजार ४८० वटा प्रयोगशाला नमुना ढुवानी गरिएको छ । स्वास्थ्य, शिक्षा तथा सूचना केन्द्रसँग भएको सम्झौताअनुसार ४४ हजार १८४ थान सामग्री पनि हुलाकमार्फत ढुवानी गरिएको छ । यस्तै, स्वास्थ्य बिमा बोर्डसँगको सम्झौताअनुसार २८ भन्दा बढी जिल्लास्थित स्वास्थ्य बिमा कार्यालयमा १३० बोरा स्वास्थ्य सामग्री ढुवानी गरिएको विभागले जनाएको छ ।

हाल सिमकार्ड बाहेक नेपाल टेलिकमका अन्य सामग्री पनि हुलाक सेवामार्फत ढुवानी भइरहेको छ । भूमि व्यवस्था तथा अभिलेख विभाग र हुलाक सेवा विभागबिच साउन ८ गते सम्झौता भई जग्गाधनी पुर्जा, सरकारी कागजातलगायत सामग्री ढुवानी तथा वितरण गर्ने व्यवस्था मिलाइएको छ ।

महानिर्देशक पङ्गेनीका अनुसार हुलाक सेवालाई अझ प्रभावकारी बनाउन देशको ठेगाना प्रणालीलाई व्यवस्थित गर्नु आवश्यक छ । बसाइँसराइ हुँदा सम्बन्धित व्यक्तिले हुलाकलाई आफ्नो नयाँ ठेगानाबारे जानकारी दिने व्यवस्था गर्न सके सरकारी कागजात तथा सामग्री सम्बन्धित व्यक्तिसम्म पुर्‍याउन सहज हुने उनको भनाइ छ ।

त्यसैगरी, हुलाक सङ्केत प्रणालीलाई सात अङ्कीय बनाउँदै आन्तरिक निगरानी प्रणालीमा समेत स्तरोन्नति गरिएको विभागले जनाएको छ । सोसम्बन्धी अद्यावधिक विवरण अन्तर्राष्ट्रिय हुलाक सङ्घमा समेत पठाइएको छ ।

वैदेशिक हुलाक सेवालाई सहज बनाउन हुलाक सेवा विभागको समन्वयमा वैदेशिक हुलाक भन्सार कार्यालय र राष्ट्रिय वाणिज्य बैंकका सेवा बिदाका दिनसमेत सञ्चालन हुने व्यवस्था मिलाइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट वैदेशिक हुलाक सामग्रीको ढुवानीलाई थप छरितो बनाउन त्यहाँ द्रुत चेकजाँच सेवा लागू गरिएको सरकारी अधिकारीहरूको भनाइ छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend