logo
  • शनिबार, असोज १७ २०८३

सरकारसँग चारबुँदे सहमतिपछि राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादवको आमरण अनशन स्थगित


  • पब्लिक सूचना
  • मंगलबार, साउन २६ २०८३

काठमाडौँ  ।  सुनसरीको देवानगञ्ज घटनाका पीडितलाई न्याय र हिन्दु हितको संरक्षणलगायतका माग राख्दै आमरण अनशनमा बसेका राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादवले अनशन स्थगित गरेका छन्। मंगलबार सरकारसँग चारबुँदे लिखित सहमति भएपछि यादवले तत्कालका लागि अनशन स्थगित गरेका हुन्।

अध्यक्ष यादव गत साउन १४ गतेदेखि काठमाडौँको माइतीघर मण्डलामा आमरण अनशनमा बसेका थिए। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनाका पीडितलाई न्याय, दीर्घकालीन नीतिगत स्पष्टता र सुरक्षा व्यवस्थाको माग गर्दै उनले ६ बुँदे माग अघि सारेका थिए।

राष्ट्रिय एकता दलका केन्द्रीय सदस्य मानिष पूर्वेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अध्यक्ष यादवज्यूले राख्नुभएका मागहरूका सन्दर्भमा सरकारले विभिन्न चारबुँदे लिखित सहमति गरी सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेको स्थितिमा तत्कालका लागि आमरण अनशन स्थगित गरिएको छ।’

दलले सुनसरी घटनाका पीडित तथा प्रभावित परिवारका पक्षमा सरकारले व्यक्त गरेको प्रतिबद्धताअनुरूप यथाशीघ्र कार्य हुने विश्वास व्यक्त गरेको छ।

साथै, हिन्दु धर्म, संस्कृति र पहिचानको संरक्षणका लागि आवश्यकता अनुसार आगामी दिनमा पनि आन्दोलन जारी राख्ने प्रतिबद्धता दलले जनाएको छ। अध्यक्ष यादवले कुमारी कन्याको हातबाट जुस खाएर अनशन स्थगित गरेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend