logo
  • शनिबार, असोज १७ २०८३

ग्यास डिपोमा सादा पोसाकमा प्रहरी परिचालन


  • पब्लिक सूचना
  • सोमबार, साउन २५ २०८३

काठमाडौँ, साउन २५ गते । ग्यासमा कालोबजारी भइरहेको सूचना आएपछि गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा काठमाडौँ उपत्यकाका ग्यास डिपोमा आइतबार सादा पोसाकका प्रहरी परिचालन गरिएको छ ।

ग्यास आयात नियमित भइरहे पनि बजारमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको भन्दै लगातार गुनासो आएपछि ग्यास डिपोमा प्रहरी परिचालन गरिएको मन्त्रालयले जनाएको छ । ग्यासको आपूर्ति सहज हुँदाहुँदै पनि कृत्रिम अभाव देखाएर उपभोक्तालाई समस्यामा पार्ने तथा महँगो मूल्यमा बिक्री गर्ने गतिविधि नियन्त्रण गर्न उद्योगमन्त्री गौरी कुमारीले गृहमन्त्री सुधन गुरुङसँग अनुगमनका लागि प्रहरी परिचालन गर्न आग्रह गर्नुभएको थियो ।

ग्यास लुकाउने, कृत्रिम अभाव सिर्जना गर्ने, तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्ने वा कालोबजारी गर्ने गतिविधि भेटिए तत्काल कारबाही गरिने मन्त्रालयले जनाएको छ ।

नेपाल एलपी ग्यास उद्योग सङ्घले ग्यासको आयात १५ प्रतिशतले बढेकाले अभाव क्रमश घट्दै जाने बताएको छ । सङ्घले विज्ञप्तिमार्फत ग्यास उद्योगबाट सिलिन्डर रिफिलिङ र बजार पठाउने कार्य पनि निरन्तर भइरहेको उपभोक्तालाई आवश्यकताभन्दा बढी सञ्चय नगर्न अनुरोध गरेको छ ।

ग्यासको आयात नियमित भइरहेकाले उपभोक्ताले अतिरिक्त ग्यास खरिद नगरे समस्या तत्कालै समाधान हुने सङ्घद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सङ्घले ग्यास विक्रेतालाई घरायसी प्रयोगकर्तालाई प्राथमिकतामा राखेर ग्यास वितरण गर्न आग्रह गरेको छ । सङ्घका अध्यक्ष दिवान चन्दले आपूर्ति व्यवस्थालाई सहज बनाउन सङ्घ प्रतिबद्ध रहेको बताउँदै सम्पूर्ण उपभोक्तालाई धैर्य हुन अनुरोध गर्नुभयो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend