पब्लिक सूचना
काठमाडौं। नेपाली महिलाहरूको महान् सांस्कृतिक पर्व हरितालिका तीज–२०८३ लाई अझ विशेष र भव्य बनाउने उद्देश्यसहित ‘मिस एन्ड मिसेस तीज क्वीन डान्स रियालिटी शो–२०२६’ आयोजना हुने भएको छ। नेपाली कला, संस्कृति, मनोरञ्जन र महिलाको प्रतिभालाई एउटै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यले आयोजना हुन लागेको यस विशेष कार्यक्रममा नृत्य, संगीत, फेसन, मौलिक संस्कृति र मनोरञ्जनका विविध कार्यक्रमहरू समेटिने भएका छन्।
निरि जुम्बा एन्ड डान्सको प्रस्तुति तथा प्याजेन्ट नेपाल, शोभा बुटिक होटल र निरि डान्स एकेडेमीको संयुक्त आयोजनामा हुन लागेको यस कार्यक्रममा नेपाली कला तथा मनोरञ्जन क्षेत्रका चर्चित कलाकारहरूको विशेष सहभागिता रहनेछ।
कार्यक्रमका मुख्य आकर्षणहरू
यस तीज विशेष कार्यक्रममा मनोरञ्जनसँगै महिला प्रतिभा र उद्यमशीलतालाई प्रोत्साहन गर्ने विभिन्न गतिविधिहरू समावेश गरिनेछन्।
आयोजकका अनुसार प्रतियोगिताका विजेताहरूका लागि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ। मिस एन्ड मिसेस तीज क्वीनका विजेताले नगद पुरस्कार, आकर्षक गिफ्ट ह्याम्पर तथा ६ महिनाको डान्स स्कलरशिप प्राप्त गर्नेछन्। त्यस्तै, प्रथम र द्वितीय रनरअपलाई समेत आकर्षक पुरस्कार, गिफ्ट ह्याम्पर, डान्स स्कलरशिप तथा प्रमाणपत्र प्रदान गरिनेछ।
अडिसनदेखि ग्रान्ड फिनालेसम्मको यात्रा
प्रतियोगिताको अडिसन राउन्ड २०८३ साउन ३० र ३१ गते (अगस्ट १५ र १६, २०२६) निरि जुम्बा एन्ड डान्समा आयोजना हुनेछ। छनोट भएका प्रतियोगीहरूबीच भदौ ६ गते (अगस्ट २२, २०२६) सेमिफाइनल प्रतिस्पर्धा हुनेछ भने कार्यक्रमको भव्य ग्रान्ड फिनाले २०८३ भदौ २१ गते (सेप्टेम्बर ६, २०२६), आइतबार आयोजना गरिनेछ।
कार्यक्रम काञ्जिरोवा फुटसल, बालकुमारी, कोटेश्वरमा आयोजना हुनेछ।
तीजको सांस्कृतिक महत्वलाई आधुनिक मनोरञ्जनसँग जोड्दै आयोजना हुन लागेको यो कार्यक्रम नेपाली महिला प्रतिभा, कला र संस्कृतिको उत्सवका रूपमा रहने विश्वास गरिएको छ। नृत्य, संगीत, फेसन र मौलिक पहिचानको उत्कृष्ट संयोजन रहने यस विशेष समारोहले तीज पर्वको उल्लासलाई थप भव्य र स्मरणीय बनाउने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend