logo
  • शनिबार, असोज १७ २०८३

तनहुँमा ग्यास आपूर्ति सहज बनाउन पहल, अनावश्यक भण्डारण नगर्न आग्रह


  • पब्लिक सूचना
  • बिहिबार, साउन २१ २०८३

तनहुँ, साउन २१ गते । तनहुँमा एलपी ग्यासको अभाव हुन नदिन स्थानीय तह र जिल्ला प्रशासन कार्यालयले बजार अनुगमन तथा आपूर्ति सहजीकरणको पहल थालेका छन्।

देशव्यापी रूपमा खाना पकाउने ग्यासको अभाव देखिएको अवस्थामा तनहुँमा पनि समस्या देखिएपछि उद्योग वाणिज्य संघ, व्यवसायी, नागरिक समाज तथा सरोकारवालासँग छलफल गरी ग्यास आपूर्ति सहज बनाउन विभिन्न निर्णय गरिएको छ।

शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुमबहादुर विकका अनुसार सम्बन्धित ग्यास कम्पनीलाई पर्याप्त आपूर्ति गर्न पत्राचार गर्ने, बजारमा उपलब्ध ग्यास प्राथमिकताका आधारमा अत्यावश्यक उपभोक्तालाई वितरण गर्ने र विद्युतीय इन्डक्सन चुलोको प्रयोग बढाउन प्रोत्साहन गर्ने निर्णय भएको छ।

नगरपालिकाले अनावश्यक रूपमा ग्यास भण्डारण नगर्न तथा बढी ग्यास भएका उपभोक्ताले अभाव भएका छिमेकीलाई सहयोग गर्न सार्वजनिक आग्रह गरेको छ।

यसैगरी, जिल्लाभर ग्यास अभाव देखिएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले पनि बजार अनुगमन र सरोकारवालासँग छलफल गरी वास्तविक अवस्था सार्वजनिक गरेको छ।

प्रशासनका अनुसार जिल्लामा ग्यासको आपूर्ति निरन्तर र नियमित रहेको छ। बजारमा ग्यास सकिने त्रास र अफवाहका कारण आवश्यकताभन्दा बढी सञ्चय गर्ने प्रवृत्तिले अस्वाभाविक चाप बढेको प्रशासनको निष्कर्ष छ।

तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले पहिले वितरण गरिएको आधा सिलिन्डरलाई पूर्ण सिलिन्डरले प्रतिस्थापन गर्दा तथा बजारमा फैलिएको अफवाहका कारण समस्या देखिएको बताउनुभयो।

कृत्रिम अभाव सिर्जना गर्ने र कालोबजारी गर्नेमाथि कडा कारबाही गरिने चेतावनी दिँदै उहाँले थप ग्यास आवश्यक परे नेपाल आयल निगमसँग समन्वय गरिने जानकारी दिनुभयो।

यसैगरी, प्रशासनले असहाय, ज्येष्ठ नागरिक, दीर्घरोगी, अपाङ्गता भएका व्यक्ति तथा होस्टल र आश्रममा बस्नेहरूलाई ग्यास पाउन समस्या भए कार्यालय समयभित्र टोल फ्री नम्बर १८१०५०००३८८ मा सम्पर्क गर्न आग्रह गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend