पब्लिक सूचना
भारदह (सप्तरी), साउन १५ गते । सप्तरीको राजविराज नगरपालिका क्षेत्रमा शान्ति–सुरक्षा कायम राख्न जिल्ला प्रशासन कार्यालय सप्तरीले अर्को आदेश नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय सप्तरीले शुक्रबार बिहान सूचना जारी गर्दै राजविराज नगरपालिका क्षेत्रमा बिहान ८ बजेदेखि कर्फ्यु लागू हुने जनाएको हो।
प्रशासनका अनुसार राजविराज नगरपालिका क्षेत्रको पूर्वमा खाँडो खोला, पश्चिममा हुलाकी राजमार्गअन्तर्गत जमुनी थलही, उत्तरमा रूपनी रोडअन्तर्गत बसबिट्टी र दक्षिणमा कोशी पश्चिमी मूल नहरसम्मको क्षेत्रमा कर्फ्यु आदेश लागू गरिएको छ।
जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा पछिल्लो सुरक्षा अवस्थाको विश्लेषण गर्दा आन्दोलन वा अवाञ्छित गतिविधिका कारण शान्ति–सुरक्षामा असर पर्न सक्ने देखिएकाले जिल्ला सुरक्षा समितिको निर्णयअनुसार कर्फ्यु आदेश जारी गरिएको उल्लेख छ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम शुक्रबार बिहान ८ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश लागू गरिएको प्रशासनले जनाएको छ।

© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend