पब्लिक सूचना
काठमाडौं, साउन २०८३। काठमाडौंको नयाँबस्तीस्थित मेलुङ मार्टमा प्रिमियम छाला तथा केश स्याहार ब्रान्ड लोयर लण्डनको पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा कम्पनीले आफ्नो ब्रान्ड, उत्पादनको गुणस्तर, नेपाली बजारमा विस्तारको योजना तथा नेपाल ब्रान्ड दूतका रूपमा कथा क्रियसन्ससँग गरिएको पहिलो सहकार्यबारे जानकारी गराएको हो।
कार्यक्रममा बोल्दै कम्पनीका व्यवसाय प्रमुख राजन उप्रेतीले लोयर लण्डन अन्तर्राष्ट्रियस्तरको प्रिमियम छाला तथा केश स्याहार ब्रान्ड भएको बताए। उनका अनुसार कम्पनीले विगत चार महिनादेखि नेपाली बजारमा आफ्ना उत्पादनको प्रवर्द्धन तथा वितरण गर्दै आएको छ। उत्पादनहरूको सूत्र निर्माण (फर्मुलेसन) बेलायतको लण्डनमा गरिएको हो भने उत्पादन भारतमा हुँदै आएको छ।
उनले कम्पनीसँग हाल ४५ भन्दा बढी प्रिमियम उत्पादन रहेको जानकारी दिँदै ती उत्पादनहरू नेपालका साथै भारत, मौरिसस र बेलायतका बजारमा समेत उपलब्ध रहेको बताए। कम्पनीका उत्पादनहरूमा सेरम, फेसवास, फेस मोइस्चराइजर, सनस्क्रिन, स्याम्पु, कन्डिसनर, फेस मास्क, स्क्रब, फेस क्रिम, नाइट क्रिम, डे क्रिम, टोनर, क्लिन्जर, हेयर सिरम, हेयर केयर उत्पादन लगायत छाला तथा केश स्याहारसँग सम्बन्धित विभिन्न सामग्री समावेश छन्। गुणस्तर र प्रभावकारिताका कारण उत्पादनप्रति उपभोक्ताको प्रतिक्रिया अत्यन्त उत्साहजनक रहेको कम्पनीले जनाएको छ।
यसै अवसरमा लोयर लण्डनले पहिलोपटक कथा क्रियसन्सलाई आफ्नो नेपाल ब्रान्ड दूतका रूपमा सार्वजनिक गरेको छ।
कथा क्रियसन्सका संस्थापक सम्राट अधिकारीले विगत दुई वर्षदेखि निरन्तर रूपमा सिर्जनात्मक सामग्री निर्माण गर्दै आएको जानकारी दिए। उनले हालसम्म सात सयभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डसँग सहकार्य गर्दै दुई हजारभन्दा बढी भिडियो तथा डिजिटल सामग्री निर्माण गरिसकेको बताए।
उनका अनुसार पाँच सदस्यीय टोलीद्वारा सञ्चालित कथा क्रियसन्समा सम्राट अधिकारी (संस्थापक, अभिनेता तथा निर्देशक), अनिस सिन्जाली मगर (अभिनेता), रश्मि श्रेष्ठ (भिडियो छायाङ्कनकर्मी), सृष्टि सुब्बा (कलाकार) तथा अच्युत गुराँगाई (कलाकार तथा लेखक) आबद्ध छन्।
कार्यक्रममा कलाकार तथा लेखक अच्युत गुराँगाईले आफूले सरकारी तथा गैरसरकारी निकायका लागि विभिन्न वृत्तचित्र, प्रचारात्मक तथा सिर्जनात्मक भिडियो निर्माण गर्दै आएको र कन्टेन्ट क्रियसनसम्बन्धी तालिमसमेत सञ्चालन गरिरहेको जानकारी दिए।
उनले विदेश जाने तयारी गरिसकेको भए पनि नेपालमै केही नयाँ र उदाहरणीय काम गर्न सकिने विश्वासका साथ स्वदेशमै बसेर सिर्जनात्मक क्षेत्रमा सक्रिय भएको बताए।
“नेपालमा अवसर छैन भन्ने सोच गलत हो। अवसर खोज्नेभन्दा अवसर सिर्जना गर्ने सोच आवश्यक छ। म नेपालमै बसेर केही गर्न सकिन्छ भन्ने विश्वास युवापुस्तामा जगाउन चाहन्छु,” गुराँगाईले भने।
कम्पनीका अनुसार लोयर लण्डनले आगामी दिनमा नेपालभर आफ्नो बजार विस्तार गर्दै अन्तर्राष्ट्रियस्तरका गुणस्तरीय छाला तथा केश स्याहार उत्पादन सहज रूपमा उपलब्ध गराउने लक्ष्य लिएको छ। साथै सञ्चारमाध्यम, कलाकार तथा सिर्जनात्मक क्षेत्रसँग सहकार्य गर्दै नेपाली उपभोक्तामाझ विश्वासिलो तथा गुणस्तरीय ब्रान्डका रूपमा स्थापित हुने प्रतिबद्धता पनि कम्पनीले व्यक्त गरेको छ।
पत्रकार भेटघाट कार्यक्रममा सञ्चारकर्मी, कलाकार, सामाजिक व्यक्तित्व तथा कम्पनीका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले उत्पादनहरूको अवलोकन गर्नुका साथै कम्पनीको भावी योजना र नेपाली बजारमा यसको सम्भावनाबारे जानकारी लिएका थिए।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend