logo
  • शनिबार, असोज १७ २०८३

मन्दिर निर्माणमा भ्रष्टाचार : ९ जनाविरूद्ध मुद्दा दायर


  • पब्लिक सूचना
  • सोमबार, असार १५ २०८३

काठमाडौँ । बझाङको छबिसपाथिभेरा गाउँपालिकामा बाँठपाली देवता मन्दिर निर्माणका क्रममा बजेट हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।

आयोगले गाउँपालिकाका तत्कालीन जनप्रतिनिधि, कर्मचारी र उपभोक्ता समितिका पदाधिकारीसहित ९ जनाविरुद्ध २२ लाख १ हजार ६६५ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो ।

आर्थिक वर्ष २०७५/०७६ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट विनियोजित बजेटमार्फत मन्दिर निर्माण गर्दा व्यापक अनियमितता भएको अख्तियारको अनुसन्धानले देखाएको छ।

आयोगका अनुसार मन्दिर निर्माणका क्रममा वास्तविक भएको कामभन्दा अस्वाभाविक रूपमा बढी काम भएको देखाई, अस्वाभाविक दररेट कायम गरी र उपभोक्ता समितिको लागत सहभागिता समेत नघटाई झुटो बिल भरपाई बनाएर भुक्तानी लिइएको पुष्टि भएको छ।

मुद्दा दायर गरिएकाहरूमा दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मकर बहादुर मण्डल, लेखापाल प्रेम प्रसाद पौडेल, इन्जिनियर हिक्मत रावल र सब-इन्जिनियर बम बहादुर बोहरा रहेका छन्।

उनीहरूले बदनियतपूर्वक गलत प्रतिवेदन तयार पारी भ्रष्टाचारमा सहयोग पुर्‍याएको आयोगको ठहर छ।

त्यस्तै भ्रष्टाचारमा संलग्न रहेको आरोपमा छबिसपाथिभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष राधिका कुमारी रतला र वडा नं. ६ का वडा अध्यक्ष मोहन लाल विकविरुद्ध पनि मुद्दा दायर गरिएको छ। उनीहरूले आपसी मिलोमतोमा सरकारी कोषलाई हानि पुर्‍याउने कार्य गरेको आयोगले जनाएको छ।

मन्दिर निर्माण उपभोक्ता समितिका अध्यक्ष कृष्ण बहादुर बुढा, सचिव जय बहादुर बुढा र कोषाध्यक्ष मधुली देवी बुढालाई पनि प्रतिवादी बनाइएको छ।

उनीहरूले सरकारी रकम गैरकानुनी रूपमा लिएको भन्दै अख्तियारले २२ लाख १ हजार ६६५ रुपैयाँ नै बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवानाको मागदाबी गरेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend