सिड्नी – दक्षिण अमेरिकी राष्ट्र कोलम्वियाले फिफा महिला विश्वकप फुटबलमा एसियाली राष्ट्र दक्षिण कोरियामाथि सहज जित हात पारेको छ ।

कोलम्वियाले दक्षिण कोरियामाथि २–० को सहज जित हात पारेको हो । सिड्नी फुटबल स्टेडियम सिड्नी अष्ट्रेलियामा मंगलबार भएको खेलमा कोलम्वियाको सहज जितमा काटालिना उस्मी र लिन्डा काइसेडोले गोल गरिन् । दुवै गोल पहिलो हाफमा भएको थियो ।
खेलको सुरुवातदेखि नै बल पोेसेसन राख्दै दवाव बढाएको कोलम्वियाले गोलको लागि ३०औं मिनेट कुर्नुपरेको थियो । काटालिना उस्मीले गोल गर्दै कोलम्वियाको गोलको खाता खोलिन् ।
उनले पेनाल्टीमार्फत गोल गर्न सफल भएकी थिइन् । मानुएला भानेगासको शक्तिशाली भली प्रहार सि यिन सिमले हातले रोक्न पुगेपछि रेफ्रीले कोलम्वियालाई पेनाल्टी प्रदान गर्दा काटालिन चुकिनन् ।
३९औं मिनेटमा लिन्डा काइसेडोले गोल गर्दै कोलम्वियालाई पहिलो हाफमा २–० को अग्रता दिलाइन् । दोस्रो हाफमा थप गोल निस्कन नसक्दा पहिलो हाफको दुई गोल नै कोलम्वियालाई ३ अंक बटुल्न पर्याप्त बन्यो ।
यस जितसँगै कोलम्वियाले समूह ‘एच’ मा ३ अंक बटुलेर नकआउट चरण पुग्ने सम्भावना बलियो बनाएको छ । समान ३ अंक नै भएपनि जर्मनी गोल अन्तरमा शीर्षस्थानमा छ । यो समूहमा दक्षिण कोरिया र मोरोक्कोले अंकको खाता खोल्न सकेको छैन । सोमबार जर्मनीले मोरोक्कोमाथि ६–० को फराकिलो जित निकालेको थियो ।
आज नै समूह ‘ए’ मा न्युजिल्यान्ड र फिलिपिन्स तथा स्वीट्जरल्यान्ड र नर्वेबीच प्रतिस्पर्धा हुँदैछ । न्युजिल्यान्ड र अष्ट्रेलियाको विभिन्न ९ स्थानमा आगामी २० अगस्टसम्म चल्ने महिला विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ ।
सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली प्रि–क्वाटरफाइनलमा पुग्नेछ । फाइनल सिड्नीस्थित एकर स्टेडियम (स्टेडियम अष्ट्रेलिया) मा हुनेछ ।