पब्लिक सूचना
फिफा महिला विश्वकप २०२३ मा पोर्चुगलले हार बेहोर्दा स्वीडेनले पूनरागमन जित दर्ता गरेको छ ।न्युजिल्यान्डस्थित डुनेडिन स्टेडियममा आइतबार भएको खेलमा पोर्चुगल नेदरल्यान्ड्ससँग १–० ले पराजित भएको हो ।

पोर्चुगलको हारमा पहिलो हाफमा स्टेफानी भान डर ग्रागटले गरेको गोल नै निर्णायक बन्यो । उनले १३औं मिनेटमा सेरिदाको पासमा गोल गर्न सफल भएकी थिइन् ।
एक गोलले अग्रता लिएको नेदरल्यान्ड्सले खेलमा पनि बल पोसेसन राख्दै त्यही अग्रतालाई कायम राखेर महत्वपूर्ण ३ अंक बटुल्न सफल भयो ।
यस जितसँगै समूह ‘ई’ मा नेदरल्यान्डको ३ अंक भएको छ । समान ३ अंक नै भएपनि गोलअन्तरमा साविक विजेता अमेरिका शीर्षस्थानमा छ । पराजित पोर्चुगल अंकविहीन छ । भियतनामले पनि अंकको खाता खोल्न सकेको छैन ।
यस्तै समूह ‘जी’ को खेलमा स्वीडेनले दक्षिण अफ्रिकामाथि २–१ को पूनरागमन जित निकालेको छ । स्वीडेनले एक गोलले पछि परेको स्थिति उल्ट्याएर जित दर्ता गरेको हो ।

वेलिङटन रिजनल स्टेडियम न्युजिल्यान्डमा भएको खेलमा स्वीडेनको पूनरागमन जितमा फ्रिडोलिना रोल्फो र एमाडाले गोल गरिन् । दक्षिण अफ्रिकाका हिल्दाह मागएइयाको गोल सान्त्वना बन्यो ।
खेलमा स्वीडेनले पकड बनाएपनि ४८औं मिनेटमा गोल खान पुगेको थियो । ४८औं मिनेटमा हिल्दाहले गोल गरेपछि स्वीडेन खेलमा पछि पर्यो । तर, दक्षिण अफ्रिकाको त्यो अग्रता लामो समय टिकेन ।
६५औं मिनेटमा फ्रिडोलिनाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याइन् । त्यसपछि बराबरीतर्फ धकेलिएको खेलको इन्ज्युरी समयमा एमाडाले गोल गर्दै स्वीडेनलाई पूनरागमन जित दिलाइन् । यस जितसँगै स्वीडेनले ३ अंक जोडेको छ । दक्षिण अफ्रिका अंकविहीन हुँदै पुछारमा छ ।
यसअघि शनिबार राति भएको समूह ‘डी’ को खेलमा डेनमार्कले चीनलाई १–० ले पराजित गरेको छ । डेनमार्कको जितमा ८९औं मिनेटमा एमाली भांगस्गार्डले गरेको गोल निर्णायक बन्यो ।
यस जितले डेनामार्क ३ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । समान ३ अंक भएपनि इंग्ल्यान्ड गोलअन्तरमा पछि छ । चीन र हाइटी अंकविहीन छ ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend