logo
  • शनिबार, असोज १७ २०८३

कलाकारिता र फेसन डिजाइनमा जमुनाको जम्कोभेट: नाटक ‘अछेता’ मा देखिँदै


  • पब्लिक सूचना
  • आइतबार, बैशाख १३ २०८३

काठमाडौँ । फेसन डिजाइनिङकी विद्यार्थी जमुना शाही ठकुरी यतिबेला आफूलाई एक बहुमुखी कलाकारको रूपमा स्थापित गर्न प्रयासरत छिन्। सानैदेखि कलाकारिता क्षेत्रप्रति गहिरो अभिरुचि राख्ने जमुनाले हाल आफूलाई कलाका विभिन्न विधामा होमिसकेकी छिन्।

आफ्नो आन्तरिक प्रतिभालाई निखार्नका लागि उनी हाल ‘कलाघर’ नामक संस्थामा आबद्ध भएर निरन्तर प्रशिक्षण लिइरहेकी छिन्। गुरु गोविन्द सुनारको प्रत्यक्ष मार्गदर्शनमा अभिनय सिकिरहेकी उनी कलाकारितालाई अनुशासन र साधनाको रूपमा बुझ्छिन्। उनी भन्छिन्, “एउटा राम्रो कलाकार बन्नका लागि निकै मेहनत र अनुशासित हुन अनिवार्य छ।”

जमुनाको सक्रियता केवल अभिनयमा मात्र सीमित छैन। उनी पछिल्लो समय नाटक ‘अछेता’ मा दोहोरो भूमिकामा देखिएकी छिन्। नाटकमा अभिनय गर्नुका साथै उनले ‘कस्ट्युम डिजाइनर’ (पोशाक व्यवस्थापन) को महत्त्वपूर्ण जिम्मेवारी पनि सम्हालिरहेकी छिन्। यसले उनको फेसन डिजाइनिङको शिक्षा र कलाकारिताको रुचिलाई एउटै थलोमा जोडेको छ।

सानैदेखि अभिनय भनेपछि हुरुक्क हुने जमुनाको उद्देश्य भने निकै फराकिलो छ। उनी समाजका हरेक यथार्थपरक चरित्रहरूलाई पर्दा वा मञ्चमा जीवन्त रूपमा उतार्न चाहन्छिन्। कलामार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने र विशेषगरी गरिब तथा निमुखा मानिसहरूको आवाजलाई प्रतिनिधित्व गर्ने दृढ संकल्पका साथ उनी आफ्नो कला यात्रामा अगाडि बढिरहेकी छिन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend