logo
  • शनिबार, असोज १७ २०८३

लगातारको सर्किट ब्रेकपछि सेयर कारोबार स्थगित


  • पब्लिक सूचना
  • सोमबार, फाल्गुन २५ २०८२

२५ फागुन, काठमाडौं । सेयर बजारमा लगातार तीन सकारात्मक सर्किट ब्रेक लागेसँगै सोमबारका लागि कारोबार स्थगित भएको छ । कुल ६ प्रतिशत बजार बढेसँगै तेस्रो सर्किट ब्रेक लागेर कारोबार स्थगित भएको हो ।

आजको कारोबारपछि नेप्से परिसूचक १६२ अंक (६ प्रतिशत) बढेको छ । सो वृद्धिसँगै नेप्से २८७५ मा कायम भएको छ । त्यस्तै ५५ करोड ५९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

चुनावपछि देशभरको मतपरिणाम आउने क्रम जारी छ । हालसम्मको परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी दुई तिहाई नजिक पुगेको छ । जसले लगानीकर्ताको विश्वास बढ्न गई बजारमा प्रभाव देखिएको छ ।

कारोबार खुलेको एक मिनेटमै पहिलो सर्किट ब्रेक लागेको थियो । २० मिनेट स्थगितपछि खुलेको बजारमा फेरि अर्को एक मिनेटमै दोस्रो सर्किट ब्रेक लागेको थियो । त्यसपछि ४० मिनेट स्थगित भइ खुलेको बजारमा अर्को एक मिनेट नपुग्दै सर्किट ब्रेक लागेपछि सोमबारका लागि कारोबार स्थगित भएको हो ।

आज २५२ कम्पनीको मूल्य बढेको छ भने एउटा कम्पनी रिलायन्स स्पिनिङ मिल्सको घटेको छ ।

आज बैंकिङ ६.९२, विकास बैंक ५.९१, फाइनान्स ५.४७, होटल तथा पर्यटन ५.७३, हाइड्रोपावर ६.८१, लगानी ७.०६, जीवन बीमा ४.६७, उत्पादन तथा प्रशोधन ५.३०, माइक्रोफाइनानस ४.०७, निर्जीवन बीमा ३.७४, अन्य ५.५६ तथा व्यापार ७.७३ प्रतिशत बढेका छन् ।

एक दर्जन कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, शिवश्री हाइड्रोपावर, हिमालयन रिइन्स्योरेन्स, सिटी होटल, निफ्रा, नेपाल बैंक, बलेफी हाइड्रोपावर, माथिल्लो तामाकोशी, शुभम् पावर, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, हिमस्टार ऊर्जा र हिमाल दोलखा हाइड्रोपावरको मूल्य १० प्रतिशत (९.९० प्रतिशत बढी) बढ्यो ।

रिलायन्स स्पिनिङ मिल्सको मूल्य १.४९ प्रतिशत घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा नारायणी डेभलपमेन्ट, शिवम् सिमेन्ट, एसवाई प्यानल, ङादी ग्रुप र राधि विद्युत् क्रमशः अगाडि रहे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend