पब्लिक सूचना
विदुर, नुवाकोट,आशिष लामिछाने। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट नुवाकोट निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. अच्युतम लामिछानेले आफ्नो स्पष्ट कार्ययोजनासहितको ‘बाचापत्र’ सार्वजनिक गर्नुभएको छ। “आश्वासन होइन, तथ्यमा आधारित स्पष्ट नीति र सफा नियत” भन्ने मुख्य मन्त्रका साथ चुनावी मैदानमा उत्रिनुभएका लामिछानेले नुवाकोटको समग्र विकासका लागि रणनीतिक योजनाहरू अघि सार्नुभएको हो।

खेलकुद विषयमा विद्यावारिधि (PhD in Sport) गर्नुभएका डा. लामिछानेले विज्ञता र युवा जोशको समिश्रणबाट नुवाकोटलाई समृद्ध बनाउने संकल्प गर्नुभएको छ।

उहाँको प्रतिबद्धता पत्रमा शासन व्यवस्था देखि तल्लो तहको आर्थिक विकाससम्मका ११ वटा क्षेत्रलाई समेटिएको छ:
सुशासन र प्रविधि: भ्रष्टाचारप्रति शून्य सहनशीलता कायम गर्दै राज्यका सेवाहरूलाई ‘कन्ट्याक्टलेस’, ‘फेसलेस’ र ‘पेपरलेस’ बनाउने डिजिटल प्रणालीको विकास।
कृषि क्रान्ति: उत्पादन वृद्धि, बजारको सुनिश्चितता, समयमै मल-बिउको उपलब्धता र सिँचाइको व्यवस्था। साथै, नुवाकोटका कृषकको मुख्य समस्याका रूपमा रहेको बाँदर नियन्त्रणका लागि नीतिगत पहल गर्ने।
रोजगारी र अर्थतन्त्र: स्थानीय स्तरमै रोजगारी सिर्जना गर्न साना तथा मझौला उद्योगको औद्योगिकीकरण गर्ने र सामाजिक न्यायसहितको उदार अर्थतन्त्रको विकास गर्ने।
पूर्वाधार र पर्यटन: दिगो यातायातका लागि सडक विस्तार, ऊर्जा क्षेत्रको विकास र नुवाकोटका ऐतिहासिक एवं पर्यटकीय स्थलहरूको प्रवर्द्धन।
खेलकुद र शिक्षा: “विद्यालयदेखि ओलम्पिकसम्म” भन्ने सोचका साथ दक्ष र अनुशासित जनशक्ति निर्माण गर्ने र गुणस्तरीय शिक्षा, स्वास्थ्य तथा पोषणमा जोड दिने।
डायस्पोरा र युवा सरकार: विदेशमा रहेका नेपालीहरूको सीप र पुँजीलाई राष्ट्र निर्माणमा उपयोग गर्ने र ‘Gen-Z’ (नयाँ पुस्ता) को भावना अनुसारको प्रतिबद्ध सरकार सञ्चालन गर्ने।

डा. लामिछानेले नुवाकोटको विकासका लागि तीनवटा मुख्य खम्बा प्रस्तुत गर्नुभएको छ: १. कनेक्टिभिटी: प्राथमिकता र सम्भाव्यताका आधारमा सडक सञ्जालको विस्तार। २. बजारिकरण: स्थानीय उत्पादनलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने। ३. आर्थिक विकास: आगामी १० वर्षभित्र नुवाकोटबासीको मध्यम आयस्तर वृद्धि गर्ने सुनिश्चितता।

नुवाकोटमा निर्माणाधीन तर अलपत्र परेका विकास निर्माणका आयोजनाहरूलाई लक्षित गर्दै उहाँले ‘ढिला सुस्तीका आयोजनामा कडा निगरानी’ राख्ने उद्घोष गर्नुभएको छ। काम नगर्ने ठेकेदार र सरकारी ढिलासुस्तीलाई निरुत्साहित गर्दै नतिजामुखी काम गर्ने उहाँको अठोट छ।
अन्त्यमा, एक बौद्धिक व्यक्तित्व र स्पष्ट भिजन भएका डा. अच्युतम लामिछानेले नुवाकोट २ का मतदाताहरूलाई यस पटक भावनामा मात्र नबगी ‘तथ्य र नीति’ हेरेर मतदान गर्न आग्रह गर्नुभएको छ। परिवर्तन र समृद्धिको लागि आगामी निर्वाचनमा ‘घण्टी’ चिह्नमा मतदान गरी आफूलाई विजयी गराउन उहाँले अपिल गर्नुभएको छ।

© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend