पब्लिक सूचना
काठमाडौँ, फागुन २०८२
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोगले विशेष सुरक्षा योजना र सवारी आवागमनमा प्रतिबन्धको घोषणा गरेको छ।
आयोगका अनुसार फागुन २० गते मध्यरात १२ बजेदेखि फागुन २१ गते मतदान कार्य नसकिएसम्म देशभरका सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइनेछ। यो प्रतिबन्ध निम्न क्षेत्रमा लागू हुने छैन:
एम्बुलेन्स, दमकल, र खानेपानीका ट्याङ्कर जस्ता अत्यावश्यक सेवा।
कुटनैतिक नियोगका (डिप्लोम्याटिक) सवारी साधन।
निर्वाचन आयोगबाट विशेष अनुमति प्राप्त (पास भएका) सवारी साधन।
काठमाडौँको हकमा सवारी पास वितरणका लागि छुट्टै एकाइ स्थापना गरिएको छ भने हवाई यात्रुहरूको सुविधाका लागि विमानस्थलसम्म आउन र जान विशेष यातायातको व्यवस्था मिलाइने आयोगले जनाएको छ। अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानहरू भने नियमित तालिका अनुसार नै सञ्चालन हुनेछन्।
निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै सरकारले निर्वाचन हुनु सात दिन अघिदेखि मतगणनाको अन्तिम परिणाम सार्वजनिक नभएसम्म देशभर मदिराको बिक्री, वितरण र सेवनमा पूर्ण प्रतिबन्ध लगाएको छ। यसको उल्लङ्घन गर्नेलाई कानुन बमोजिम कडा कारबाही गरिने सुरक्षा निकायले चेतावनी दिएको छ।
निर्वाचनलाई सुरक्षित बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनासहितको एकीकृत सुरक्षा टोली परिचालन गरिएको छ। निर्वाचन आचारसंहिताको पालना गराउन र शङ्कास्पद गतिविधिमाथि निगरानी राख्न विशेष टोली खटाइएको छ।
मतदान गर्न जाँदा प्रत्येक मतदाताले आयोगले तोकेको आफ्नो वैध परिचयपत्र (मतदाता परिचयपत्र वा अन्य सरकारी कागजात) अनिवार्य बोक्नुपर्नेछ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend