पब्लिक सूचना
बार्सिलोना अल्बासेटेलाई २-१ ले हराउँदै कोपा डेल रे को सेमिफाइनलमा पुगेको छ। लामिन यामाल र रोनाल्ड अराउजोको गोलमा बार्सिलोना विजयी भएको हो।
खेलको ३९औँ मिनेटमा किशोर खेलाडी यामालले यो सिजनको प्रतियोगितामा आफ्नो पहिलो गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए।
दोस्रो हाफ सुरु भएको ११ मिनेटपछि रोनाल्ड अराउजोले रासफोर्डको कर्नरबाट दोस्रो गोल थपे। घरेलु टोली अल्बासेटेका लागि जाभी मोरेनोले ८७औँ मिनेटमा गोल गरे।
यो जितसँगै दोस्रो डिभिजनको टोली अल्बासेटेको उत्कृष्ट यात्रा टुंगिएको छ। अघिल्लो चरणमा उसले रियल म्याड्रिडलाई अन्तिम क्षणमा हराउँदै सनसनी मच्चाएको थियो।
सन् २००५ पछि पहिलोपटक आमनेसामने भएका दुई टोलीबीचको खेलमा बार्सिलोनाले सुरुदेखि नै दबाब बनायो। आठौँ मिनेटमा डानी ओल्मोको पासमा रासफोर्डले प्रहार गरे पनि गोल हुन सकेन।
ला लिगामा शीर्ष स्थानमा रहेको बार्सिलोनाले बल नियन्त्रणमा राखिरह्यो । १८ वर्षीय यामालले अल्बासेटेको क्षेत्रमा उच्च दबाबपछि बल पाउँदा कर्लिङ सटमार्फत गोल गर्दै सिजनको १४औँ गोल पूरा गरे।
दोस्रो हाफको सुरुआतमै रासफोर्डको एकल दौडपछि दिएको बल ओल्मोले गरेको प्रहारलाई डानी बर्नाबेउले गोललाइनबाट बचाए।
तर केही समयमै रासफोर्डले कर्नरबाट अराउजोको गोलमा सहयोग गरे । अन्तिम समयमा अल्बासेटेले मोरेनोको हेडरमार्फत खेललाई रोचक बनाए । इन्जुरी समयमा फेरान टोरेसको गोल अफसाइडका कारण मान्य भएन।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend