पब्लिक सूचना
एमिन आदलीले इन्जुरी समयको अन्तिममा गोल गरेपछि बोर्नमाउथले प्रिमियर लिगमा लिभरपुललाई ३-२ ले हराएको छ । योसँगै लिभरपुलको १० खेलको अपराजित यात्रा टुंगिएको छ।
भाइटालिटी स्टेडियममा भएको खेलमा बोर्नमाउथले २६औँ मिनेटमा इभानिल्सनको गोलबाट अग्रता लियो। एलेक्स जिमेनेजले ३३ औं मिनेटमा गोल थप्दै घरेलु टोलीको अग्रता दोब्बर पारे।
तर पहिलो हाफ सकिनै लाग्दा भर्जिल भान डाइकले गोल गर्दै लिभरपुललाई खेलमा फर्काए।
दोस्रो हाफमा पनि लिभरपुलले लगातार दबाब बनायो र ८०औँ मिनेटमा डोमिनिक स्जोबोस्लाईको फ्रिकिक गोलमा खेल २–२ को बराबरीमा भयो।
त्यसपछि बोर्नमाउथले सुनौलो अवसर गुमाए पनि अन्तिम क्षणमा नाटकीय मोड आयो। इन्जुरी समयको पाँचौँ मिनेटमा आदलीले नजिकबाट गोल गर्दै बोर्नमाउथलाई ऐतिहासिक जित दिलाए।
यो जितसँगै बोर्नमाउथ अंक तालिकाको १३औँ स्थानमा उक्लिएको छ । लिभरपुल चौथो स्थानमा छ।
म्यानचेस्टर सिटीको जित
म्यानचेस्टर सिटीले वुल्भरह्याम्प्टन वान्डरर्स (वल्भ्स) लाई २-० ले हराउँदै जितको लयमा फर्किएको छ।
सिटीका लागि एन्तोइन सेमेन्होले पहिलो प्रिमियर लिग गोल गरे।
ओमार मार्मुशले पनि छैंटौं मिनेटमा सिजनको आफ्नो पहिलो लिग गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाए।
लगातार दुई खेल हारेपछि मैदान उत्रिएको सिटीले यो खेलमा राम्रो प्रदर्शन गर्यो। एर्लिङ हालान्ड र फिल फोडेन सुरुआती टोलीमा थिएनन्। त्यसको बाबजुद सिटीले खेलमा नियन्त्रण कायम राख्यो।
पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा सेमेन्होले गोल गर्दै सिटीको जित सुनिश्चित गरे। दोस्रो हाफमा वुल्भ्सले गोल फर्काउन सकेन।
यो जितसँगै म्यानचेस्टर सिटी दोस्रो स्थानमा छ। तालिकाको पुछारमा रहेको वुल्भ्स भने सुरक्षित स्थानबाट १४ अंकले पछि परेको छ।
अन्य खेलमा वेस्ट हमले सन्डरल्यान्डलाई ३-१ ले,फुलहमले ब्राइटनलाई २-१ हरायो। बर्नली र टोटनहमबीचको खेल २-२ को बराबरीमा टुंगिएको छ।



© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend