logo
  • शनिबार, असोज १७ २०८३

२६ औं अन्तर्राष्ट्रिय बुढासुब्बा गोल्डकप माघ २२ देखि


  • पब्लिक सूचना
  • शुक्रबार, माघ २ २०८२

धरान, माघ २ गते । अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको २६ औं संस्करण यही माघ २२ गतेदेखि सुरु हुने भएको छ ।
धरान फुटबल क्लबले धरान–१५ स्थित होटल मेरिकनमा पत्रकार सम्मेलन गरी प्रतियोगिता माघ २२ देखि फागुन २ गतेसम्म धरान–१६ स्थित रंगशालामा सञ्चालन हुने जानकारी दिएको छ ।

विगतका संस्करणहरूमा ८ टिम मात्र सहभागी हुँदै आएकोमा यस वर्ष २ टिम थप गरी १० टिम सहभागी गराइने भएको क्लबका महासचिव नविन राईले जानकारी दिनुभयो । प्रतियोगितामा नेपाल, भारत र भुटानका क्लबहरूको सहभागिता रहनेछ ।

प्रतियोगितामा अघिल्लो दुई वर्ष लगातार उपाधि जितेको टोली एनआरटी क्लब काठमाडौँ, चर्च ब्वाइज क्लब काठमाडौँ, नेपाल पुलिस क्लब काठमाडौँ, प्लानिङ ब्वाइज युनाइटेड क्लब काठमाडौँ, सातदोबाटो युथ क्लब ललितपुर, एलए क्लब पोखरा, झापा ११ झापा, आयोजक धरान फुटबल क्लब, जर्जियन क्लब कालेम्पुङ (भारत) र रोयल थिम्पु क्लब (भुटान) सहभागी हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद पाँच लाख रुपियाँ पुरस्कार प्राप्त गर्नेछ । यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई एक थान होण्डा कम्पनिको डियो स्कुटर प्रदान गरिनेछ भने प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ ले नगद १० हजार रुपियाँ पाउने आयोजकले जनाएको छ ।

त्यसैगरी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई जनही नगद २५ हजार रुपियाँ प्रदान गरिनेछ भने सर्वाधिक गोलकर्तालाई नगद ३५ हजार रुपियाँ पुरस्कार प्रदान गरिने  छ ।

यसपटक प्रथम र दोस्रो पुरस्कार राशी धरान उपमहानगरपालिकाले उपलब्ध गराएको क्लबको अध्यक्ष प्रताप तामाङले बताउनुभयो  ।

प्रतियोगिताका लागि कुल एक करोड ७ लाख रुपियाँ आय र ८७ लाख १५ हजार रुपियाँ व्यय अनुमान गरिएको छ । प्रतियोगिताको मुख्य प्रायोजक गोरखा ब्रुअरी प्रालि (गोर्खा बियर) रहेको छ भने सह–प्रायोजक टेस्टी टेस्टी चाउचाउ रहेको उहाँले बताउनुभयो  ।

विगतमा १२ टिमसम्म सहभागी गराएर प्रतियोगिता सञ्चालन गरिँदै आएकोमा केहि वर्षदेखि घटाएर ८ टिम सहभागिता गराइदै आएको थियो । खेलको स्तर बढाउन क्लब सङ्ख्या बढाउनुपर्ने सुझावलाई मध्यनजर गर्दै यस वर्ष १० टिम सहभागी गराइएको र भविष्यमा पुनः १२ टिम सहभागी गराउने योजना रहेको  अध्यक्ष तामाङले बताउनुभयो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend