पब्लिक सूचना
नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय युवा परिषद्को बोर्ड सदस्यमा रबेन्द्र विक्रम शाह नियुक्त भएका छन्। विगत एक दशकभन्दा बढी समयदेखि युवा सशक्तीकरण, नेतृत्व विकास र नागरिक सहभागिताको क्षेत्रमा सक्रिय शाहको नियुक्तिलाई युवा क्षेत्रका
सरोकारवालाहरूले सकारात्मक रूपमा लिएका छन्। शाहले MBA अध्ययनमा विश्वविद्यालय टप गर्दै शैक्षिक उत्कृष्टता हासिल गरेका छन्। शैक्षिक उपलब्धिसँगै उनले व्यवहारिक रूपमा पनि युवासम्बन्धी नीति, कार्यक्रम र अभियानहरूमा लामो समयदेखि योगदान दिँदै आएका छन्। उनी हालसम्म एक दर्जनभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरूमा आबद्ध रही सक्रिय भूमिका निर्वाह गरिसकेका छन्।

उनले जेसिज (JCI), युवा अभियान , Amnesty International Nepal, Nepal Youth Council, Youth NGO Federation Nepal, Lions Club लगायतका प्रतिष्ठित संस्थाहरूमार्फत युवाको नेतृत्व विकास, मानव अधिकार, सामाजिक उत्तरदायित्व, सुशासन र स्वयंसेवक अभियानहरूमा उल्लेखनीय योगदान पुर्याएका छन्। युवा प्रतिनिधित्व, क्षमता अभिवृद्धि, रोजगारी, उद्यमशीलता तथा नीति निर्माण प्रक्रियामा युवाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न उनले निरन्तर आवाज उठाउँदै आएका छन्। विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रम, तालिम र संवाद प्रक्रियामा उनको संलग्नताले युवाको मुद्दालाई संस्थागत रूपमा अघि बढाउन मद्दत पुर्याएको छ।
आफ्नो नियुक्तिपछि प्रतिक्रिया दिँदै शाहले भने, “राष्ट्रिय युवा परिषद्को बोर्ड सदस्यको जिम्मेवारी पाउनु मेरो लागि सम्मान मात्र नभई ठूलो दायित्व पनि हो। म मेरो अनुभव र सीप प्रयोग गर्दै युवाको आवाजलाई नीति तहमा प्रभावकारी रूपमा स्थापित गर्न तथा समावेशी र सक्षम युवा पुस्ता निर्माणका लागि इमान्दारिताका साथ काम गर्नेछु।” उनको नियुक्तिले सरकारी तथा गैरसरकारी निकायबीच सहकार्य मजबुत बनाउँदै युवामैत्री नीति तथा कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend