पब्लिक सूचना
जेडन एन्थोनीको दोस्रो हाफको गोलपछि बर्न्लीले म्यानचेस्टर युनाइटेडसँग २–२ को बराबरी खेलेको छ। योसँगै अन्तरिम प्रशिक्षक डारेन फ्लेचरले पहिलो जित हात पार्न सकेनन्।
खेलको १३ औं मिनेटमा बर्न्लीले अग्रता लिएको थियो। गोल खाएपछि युनाइटेडले खेलमा नियन्त्रण जमायो र ५०औँ मिनेटमा बेन्जामिन सेस्कोले बराबरी गोल गरे।
६०औँ मिनेटमा सेस्कोले दोस्रो गोल गर्दै युनाइटेडलाई २-१ को अग्रता दिलाए। तर त्यसपछि जेडन एन्थोनीले ६६ औं मिनेटमा गोल गर्दै बर्न्लीलाई खेलमा फर्काए।
चेल्सीको हार
ह्यारी विल्सनको अन्तिम समयको गोलसँगै फुलहमले चेल्सीलाई २-१ ले हराएको छ। २२औँ मिनेटमै चेल्सीका मार्क कुकुरेल्ला रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो।
५५औँ मिनेटमा राउल हिमेनेजले गोल गर्दै फुलहमलाई अग्रता दिलाए। त्यसपछि७२ औं मिनेटमा लियाम डेलापले गोल गर्दै चेल्सीलाई बराबरीमा फर्काए।
तर ८१औँ मिनेटमा ह्यारी विल्सनले निर्णायक गोल गर्दै फुलह्यामलाई जित दिलाए। यो जितसँगै फुलहम प्रिमियर लिगको शीर्ष चारभन्दा ३ अंक टाढा छ।
सिटीको लगातार तेस्रो बराबरी
म्यानचेस्टर सिटीले प्रिमियर लिगमा लगातार तेस्रो खेल बराबरी खेलेको छ। एत्तिहाद स्टेडियममा भएको खेलमा ब्राइटनले सिटीलाई १-१ को बराबरीमा रोकेको छ ।
खेलको सुरुदेखि नै सिटी दबाबमा देखियो। ब्राइटनले केही राम्रा अवसर पाए पनि गोल गर्न सकेन। ४१औँ मिनेटमा एर्लिङ हालान्डले पेनाल्टीमार्फत सिटीलाई अग्रता दिलाए। भिएआर समीक्षा पछि सिटीले पेनाल्टी पाएको थियो।

दोस्रो हाफमा ब्राइटनले खेलमा राम्रो पुनरागमन गर्यो। ६०औँ मिनेटमा काओरु मितोमाले गोल गर्दै खेल बराबरीमा पुर्याए।
अन्तिम समयमा सिटीले जितका लागि धेरै प्रयास गर्यो, तर गोल गर्न सकेन। हालान्ड र रायन चेर्कीका प्रहार गोलमा परिणत भएनन्। अन्ततः बराबरीमा सकियो।
यस बराबरीसँगै सिटीको उपाधि जित्ने सम्भावनामा थप धक्का लागेको छ।
बिहीबार शीर्ष स्थानको आर्सनलले लिभरपुललाई हराएको खण्डमा सिटी ८ अंकले पछाडि पर्नेछ। सिटीको अर्को खेल जनवरी १७ मा म्यानचेस्टर युनाइटेडसँग खेल्नेछ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend