logo
  • आइतबार, असोज १८ २०८३

मन्त्री कुलमान घिसिङको पश्चिम नवलपरासी भ्रमणः हुलाकी राजमार्ग र सडक विकासको अवलोकन


  • पब्लिक सूचना
  • आइतबार, पुष ६ २०८२

 ऊर्जा, सिँचाइ तथा सहरी विकास मन्त्री कुलमान घिसिङले आइतबार पश्चिम नवलपरासीको भ्रमण गरी निर्माणाधीन आयोजनाहरूको स्थलगत अवलोकन गर्नुभएको छ। भ्रमणका क्रममा मन्त्री घिसिङले यस क्षेत्रको विकासको मेरुदण्ड मानिने हुलाकी राजमार्ग सडक खण्डको अवस्थाबारे प्रत्यक्ष जानकारी लिनुभयो।

अवलोकनका क्रममा उहाँले सरोकारवाला निकाय र निर्माण व्यवसायीहरूलाई निर्देशन दिँदै विकासका कामहरूमा ढिलासुस्ती नगर्न र तोकिएको समयमै गुणस्तरीय काम सम्पन्न गर्न सचेत गराउनुभयो।

मन्त्री घिसिङले कुडियादेखि बेलाटारीसम्म, बेलाटारीदेखि कठहवा सडक सञ्जाल र बेलाटारीदेखि नारायणचोक सडक सञ्जालको समेत अवस्थाबारे प्रत्यक्ष जानकारी लिनुभयो।

मन्त्रीको भ्रमण भइरहँदा स्थानीय बासिन्दाले भने मिश्रित प्रतिक्रिया दिएका छन्। विगतमा पनि धेरै पटक अनुगमन र आश्वासन दिइएको भए तापनि आयोजनाहरूको अवस्था नसुध्रिएकोमा स्थानीयले आक्रोश व्यक्त गरेका छन्। स्थानीय बासिन्दा अमुल पाण्डेले भन्नुभयो, “कुलमान घिसिङको कार्यशैलीबाट हामी प्रभावित छौँ। उहाँको यस भ्रमणले विद्युतमा जस्तै अलपत्र परेका सडक र पुलका लागि पनि सङ्घीय सरकारको ध्यान तान्न सकोस् र कामले गति पाओस्।”

पश्चिम नवलपरासी क्षेत्रमा भौतिक पूर्वाधारको अवस्था अझै पनि चुनौतीपूर्ण देखिएको छ। विशेषगरी बर्दघाट-त्रिवेणी सडक, रणनीतिक महत्त्वको यो सडक विस्तार कार्य प्रक्रियागत ढिलासुस्तीका कारण अझै पूर्ण हुन सकेको छैन। हुलाकी राजमार्ग , दक्षिण भेगका जनताका लागि लाइफलाइन मानिने यस राजमार्गको काममा भइरहेको ढिलाइले स्थानीयले लामो समयदेखि सास्ती भोग्दै आएका छन्। खजुरा खोला पुल, बर्दघाटको खजुरा खोलामा पुल निर्माण सम्पन्न नहुँदा वर्षायाममा आवागमन पूर्ण रूपमा ठप्प हुने गरेको छ। पर्यटकीय सडक, भुताहा-आमबास-संसारकोट-जिमिरेभार सडकको स्तरोन्नति हुन सके यस क्षेत्रको आर्थिक र पर्यटकीय गतिविधिमा विकास आउने अपेक्षा गरिएको छ।

उच्चपदस्थ अधिकारी र मन्त्रीहरूको बारम्बारको भ्रमण केवल निरीक्षणमा मात्रै सीमित नभई, बजेट निकासा र निर्माण व्यवसायीलाई जवाफदेही बनाउन ठोस कदम चाल्नुपर्ने आवश्यकता देखिएको छ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend