logo
  • शनिबार, असोज १७ २०८३

नेरेस र होयलुन्ड चम्किँदा नापोली इटालियन सुपर कपको फाइनलमा


  • पब्लिक सूचना
  • शुक्रबार, पुष ४ २०८२

डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो।

यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ।

खेलको सुरुआतमै नापोलीले अग्रता लिने मौका पाएको थियो। मिलानका गोलरक्षक माइक मैग्नाँले माटेओ पोलिटानोको कर्नरबाट आएको बल नियन्त्रणमा लिन सकेनन्। त्यसपछिको रिबाउन्डमा एल्जिफ एल्मासले प्रहार गरे पनि सफल हुन सकेन।

नापोलीले खेलमा निरन्तर दबाब बनाइरह्यो। स्कट म्याकटोमिनेले टाढाबाट हानेको बल पोस्ट नजिकबाट बाहिरियो। मिलानका एड्रिएन राबियोले हेड गरेको क्रसबारमाथिबाट बाहिरियो।

पहिलो हाफ सकिन छ मिनेट बाँकी रहँदा नापोलीले पहिलो गोल गर्‍यो। रास्मुस होयलुन्डले दिएको क्रसमा मैग्नाँले बललाई पूर्ण रूपमा रोक्न सकेनन्। त्यस अवसरमा नेरेसले सिक्स यार्ड बक्सभित्रबाट सजिलै गोल गरे।

पहिलो हाफको इन्जुरी समयमा नापोलीले अग्रता दोब्बर बनाउने अर्को राम्रो मौका पायो। काउन्टर आक्रमणपछि होयलुन्डले नजिकको पोस्टतर्फ प्रहार गरे, तर मिलानका कप्तान तथा गोलरक्षक मैग्नाँले उत्कृष्ट बचाउ गरे।

दोस्रो हाफको सुरुआत पनि नापोलीले आक्रामक रूपमा गर्‍यो। यस क्रममा अमिर रहमानीले टाढाबाट हानेको शक्तिशाली प्रहारलाई फेरि एकपटक मैग्नाँले रोक्दै मिलानलाई खेलमा फर्किने आशा जोगाइराखे।
तर ६३औँ मिनेटमा नापोलीले दोस्रो गोल गर्यो।

होयलुन्डले कोनी डे विन्टरलाई सजिलै छलाएर गोल गरे।होयलुन्डले केही समयपछि अर्को मौका पाए, तर उनको प्रहार पोस्ट नजिकबाट बाहिर गयो।

खेल सकिन ३ मिनेट बाँकी रहँदा स्कट म्याकटोमिनेले गोल गर्ने राम्रो अवसर पाए। तर उनको प्रहार पनि क्रसबारमाथिबाट बाहिर गयो।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend