logo
  • आइतबार, असोज १८ २०८३

फ्राइडे रिलिजः हलमा लागे दुई नेपालीसहित तीन फिल्म


  • पब्लिक सूचना
  • शुक्रबार, मंसिर २६ २०८२

फ्राइडे रिलिज अन्तर्गत दुई नेपालीसहित तीन फिल्म रिलिज भएका छन्।

शुकबारदेखि हलमा एक तेलुगु फिल्म पनि प्रदर्शनमा आएको हो।

नेपालीतर्फ शोभित बस्नेत निर्देशित ‘पीआरः पर्मानेन्ट रेसिडेन्ट’ र रञ्जित राना निर्देशित ‘लोकन्ती’ रिलिज भएका हुन्। यीमध्ये ‘पीआर’ ले अस्ट्रेलियामा स्थायी आवासीय (पीआर) प्राप्ति प्रक्रियामा नेपाली विद्यार्थीले व्यहोर्नुपर्ने संघर्ष तथा घरपरिवारको आर्थिक दबाब जस्ता पक्षलाई उठाएको छ।

नेपाल र अस्ट्रेलियामा छायांकन गरिएको फिल्मले वैदेशिक अध्ययनसँग जोडिएका सामाजिक पाटोलाई चित्रण गर्छ। फिल्ममा आर.ए. सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी, विमला खत्रीलगायतको अभिनय छ। नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, उत्तम के.सी. र दिक्पाल कार्की लगायतले यसमा विशेष भूमिका निर्वाह गरेका छन्।

फिल्मको प्रस्तुति रञ्जित साह र सन्तोष तिवारीको रहेको छ। फिल्ममा लक्ष्मण सापकोटा र प्रदीप दाहालले लगानी गरेका छन्।

त्यस्तै, ‘लोकन्ती’ मा परम्परा, रीतिरिवाज, सामाजिक मूल्यमान्यता, पहिरन र संस्कृतिको कथा भनिएको छ। आफ्नो प्रेम प्राप्तिको लागि लोकन्तीले गरेको संघर्ष र त्यागलाई फिल्मले चित्रण गर्छ।

फिल्ममा एसराज गराच र ऋचा थापाको शीर्ष अभिनय छ। साथमा विमला लिम्बु, कुमार न्यौपाने, विकास अधिकारी, दमन रूपाखेती, गोविन्द प्रभात, रमेश बुढा मगर, लेखान्त भुसाल लगायत कलाकारहरूले अभिनय गरेका छन्। यो फिल्मले मल्टिप्लेक्समा भने एकदमै कम शो पाएको छ। फिल्मको निर्माता सन्तोष न्यौपाने हुन्।

त्यस्तै, तेलुगु फिल्म ‘अखण्ड २’ पनि शुक्रबारदेखि नेपालमा प्रदर्शनमा आएको छ। नन्दामुरी बालाकृष्ण अभिनीत यो फेन्टासी–एक्सन फिल्म हो।

बोयापाटी श्रीनु निर्देशित ‘अखण्ड २’  २०२१ को सुपरहिट फिल्म ‘अखण्ड’ सिक्वेल हो। फिल्ममा नन्दामुरीसहित संयुक्ता मेनन, आदि पिनिसेट्टी, कबीर दुहन सिंहलगायतको समेत अभिनय छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend