पब्लिक सूचना
लक्ष्मण रिजालको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘काजी’ को प्रदर्शन मिति घोषणा गरिएको छ।
निर्माण पक्षले फिल्मको ‘फर्स्टलुक’ पोस्टर सार्वजनिक गर्दै आगामी चैत २७ गतेलाई रिलिज मिति पक्का गरेको हो। नयाँ वर्षको बिदालाई लक्षित गर्दै फिल्म प्रदर्शनमा आउने भएको हो।
रामप्रसाद रिजालको प्रस्तुति रहेको यस फिल्मको सार्वजनिक पोस्टरमा मुख्य अभिनेता विपिन कार्कीलाई प्रस्तुत गरिएको छ।
पोस्टरमा उनी युवा र आकर्षक लुक्समा देखिएका छन्। विपिन गम्भीर मुद्रामा केही सोचिरहेको र हेरिरहेको अवस्थामा देखिन्छन्।पोस्टरमा अभिनेत्री केकी अधिकारीलाई पनि स्थान दिइएको छ। उनलाई विपिनले आफ्नो मुटुमा सजाएको वा स्मृतिमा राखेको भान हुन्छ। पोस्टरमा उनीहरू पुराना दिन सम्झँदै सँगै खाना खाइरहेको जस्तो देखिन्छन्। यसबाट चलचित्र पारिवारिक प्रेमकथामा आधारित रहेको अनुमान लगाउन सकिन्छ।
फिल्ममा विपिन र केकीका साथै गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्ट, हिउँवाला गौतम, सन्दिपबाबु लोहनी, रोजी श्रेष्ठ, गंगा शर्मा, नवराज गिरी, बुद्धिसागर खनाल, प्रशंसा सुवेदी, कृतिका शर्मा र बाल कलाकार दीक्षिता अर्याल लगायतको अभिनय छ।

फिल्ममार्फत निर्देशक लक्ष्मण रिजाल ८ वर्षपछि निर्देशनमा फर्किएका छन्। आफूले खोजे जस्तै पटकथा पाएकाले निर्देशनमा पुनरागमन गरेको उनले बताएका छन्।
उनले यसअघि ‘कसम’, ‘धुँवा यो नसा’, ‘अलविदा’, ‘कायरा’ जस्ता फिल्म निर्देशन गरेका थिए भने ‘डिसेम्बर फल्स’ र ‘गणपति’ निर्माण गरेका थिए।
रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा बनेको यस फिल्मलाई रामप्रसाद रिजालले निर्माण गरेका हुन्। कथा प्रदीप भारद्वाजले लेखेका हुन् भने यसमा कालीप्रसाद बास्कोटाको संगीत र चिन्तन राजभण्डारीको छायांकन रहेको छ।
फिल्मको प्राविधिक पक्षमा ओजस्वी ओझा (प्रोडक्सन डिजाइनर), श्याम कुँवर (रंग संयोजक), सागर अर्याल (लोकेसन साउन्ड÷साउन्ड डिजाइन), सुजिल कर्माचार्य (ब्याकग्राउन्ड स्कोर), रोनाल्ड श्रेष्ठ (क्रिएटिभ हेड) र कविराज गहतराज (नृत्य निर्देशक) रहेका छन्।
त्यस्तै, प्रोडक्सन हेडमा प्रकाश हमाल, सम्पादन सुपरभाइजरमा वनिश शाह र सम्पादकमा विपिन मल्ल छन्। ‘काजी’ को कार्यकारी निर्मातामा असिम काफ्ले तथा निर्माताहरूमा नेहान रिजाल र विकास राज जोशी छन्।
वितरण श्रीराम बालाजी फिल्म्सले गर्नेछ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend