logo
  • शनिबार, असोज १७ २०८३

विवाहपञ्चमीको चौथो दिन आज तिल्कोत्सव मनाइँदै


  • पब्लिक सूचना
  • आइतबार, मंसिर ७ २०८२

७ मंसिर, जनकपुरधाम । सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको चौथो दिन आज तिल्कोत्सव मनाइँदै छ । तिल्कोत्सवमा जानकी मन्दिरबाट एकहजार एक भार लिएर साधुशन्त राममन्दिरमा पुगेर तिल्कोत्सव मनाउने गरिन्छ ।

तिल्कोत्सवमालाई मैथिलीमा छेका भनिन्छ । विवाह हुनुअघि बेहुली पक्षले बेहुला अर्थात बरलाई भार लिएर पुगि  तिल्काउने (टीकाटालो) गर्ने विधि हुन्छ

दहीचुरा, खिरपुरी, विभिन्न मिठाइ, फलफूल, लताकपडासहित १००१ भार जानकी मन्दिरबाट बाजागाजासहित साधुशन्त जनकपुरकै राम मन्दिरमा पुग्ने गर्दछन् ।

भारको नेतृत्व अर्थात राजा जनकको भूमिकामा जानकी मन्दिरका महन्त तपेश्वर दास गर्ने गर्छन् भने रामको बुबा अर्थात राजा दशरथको भूमिकामा राममन्दिरका महन्त राम गिरी रहने परम्परा छ ।

राम मन्दिरमा भार पुगेपछि तिल्कोत्सवको कार्यक्रम भव्य रुपमा हुने गर्दछ । त्यहाँ महिलाहरुले मैथिली भाषाका थरीथरी लोक तथा गाली गीतले छोरी जानकीको पक्षबाट पुगेका साधुशन्तलाई गाली गरी स्वागत गर्ने चलन छ । यसरी सम्धि मिलन र तिल्कोत्सव सम्पन्न हुन्छ ।

                                         

सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको तेस्रो दिन बिहीबार जानकी मन्दिरमा धनुष यज्ञ मनाइएको छ । त्रेता युगमा राजा जनकले छोरी जानकीको योग्य बर छनोटका लागि भगवान पर्शुरामले दिएको शिव धनुष भाँच्ने यज्ञ गरेका थिए ।

अहिले पनि त्यसरी नै धनुष यज्ञको आयोजन गर्ने गरिन्छ । धनुष यज्ञमा रामको स्वरुप बनेका बालकले धनुष भाँच्ने गर्दछन् । धनुष यज्ञ अव्लोकन गर्न हिजो साँझ जानकी मन्दिरमा हजारौको संख्यामा साधुशन्त तथा दर्शनार्थी भेला भएका थिए ।

भोलि पाँचौ दिन सोमबार राम र जानकीको मटकोर, मुख्यदिन मंगलबार जानकी र भगवान रामको विवाह र बुधबार रामकलेवा गरी विवाहपञ्चमी महोत्सव सम्पन्न हुने छ ।

यही मंसिर ४ गतेदेखि सुरु भएको विवाहपञ्चमीको पहिलो दिन नगरदर्शन, दोस्रो दिन मंसिर ५ गते फूलबारी लिला र मंसिर ६ गते धनुष यज्ञ मनाइएको थियो ।

त्रेता युगमा जस्तै प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन भगवान राम र आदर्शनारी सीताको डोलालाई सोयम्बर गरी विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend