logo
  • शनिबार, असोज १७ २०८३

प्रतिक्रेट ५५ रुपैयाँ बढ्यो अन्डाको भाउ


  • पब्लिक सूचना
  • आइतबार, मंसिर ७ २०८२

७ मंसिर, काठमाडौं । अन्डाको भाउ बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघले  आइतबारदेखि लागु हुने गरी अन्डाको भाउ बढाएको हो ।

संघ सचिव मदन पोखरेलले ठूलो (एक्सएल) अन्डाको भाउ प्रतिक्रेट ५ सय २०, ठूलो अन्डाको भाउ प्रतिक्रेट ५ सय ५ रुपैयाँ र मध्यम अन्डाको ४ सय ९० रुपैयाँ पुगेको बताए।

सचिव पोखरेलका अनुसार अघिल्लो दरको तुलनामा प्रतिक्रेटमा ५५ रुपैयाँ भाउ बढाइएको हो । यो मूल्यवृद्धि चितवनलाई आधार बनाएर निर्धारण गरिएको हो ।

यसअघि संघले ठूलो अन्डाको भाउ प्रतिक्रेट ४ सय ५० र मध्यम अन्डाको ४ सय ३५ रुपैयाँ तोककेो थियो । अन्डाको हालको बजार मूल्यले किसानको उत्पादन लागत मात्र उठाउन सक्ने अवस्थामा पुगेको सचिव पोखरेलको भनाइ छ ।

उनले अवैध भारतीय अन्डा आयातमा कमी र आन्तरिक खपतमा वृद्धिका कारण किसानले राहत महसुस गरेको बताएका छन् ।

‘यसअघि अन्डाको मूल्य निकै कम थियो र किसानहरूले लागत मूल्य पनि पाउन सकिरहेका थिएनन्,’ उनले भने, ‘यसअघिसम्म किसानले लागत मूल्य पाएकै थिएनन्, अब लागत मूल्य पाउन मात्र लागेका हुन् ।’

अवैध भारतीय अन्डाको आयात घट्नुमा भारतमा निर्वाचनका कारण सीमामा कडाइ हुनु र भारतमै अण्डाको माग तथा मूल्य बढ्नु रहेको पोखरेलले जानकारी दिए ।

जाडो महिनामा अन्डा खपत बढ्ने भएकाले पनि बजारमा थप माग सिर्जना भएको छ । चिसोबाट बच्न अन्डा खानेबारे जनचेतना बढेको, पर्यटकहरूको आगमन भएको र शैक्षिक संस्था पनि राम्ररी सञ्चालन भएकाले समग्रमा अन्डाको माग बढेको उनको भनाइ छ ।

‘अहिले मूल्यमा केही सुधार देखिएको छ र ५ देखि ७ दिनभित्र प्रतिक्रेट मूल्य ५ सय ७० रुपैयाँसम्म पुग्ने अनुमान गरिएको छ,’ सचिव पोखरेलले भने । उनले आगामी दिनमा अन्डाको मूल्य अझै बढ्ने सम्भावना रहेको पनि औंल्याए । हाल नेपालमा दैनिक करिब ४० लाख गोटा अन्डा उत्पादन हुने गरेको अनुमान छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend