logo
  • शनिबार, असोज १७ २०८३

गृहमन्त्री अर्याल : देश सामान्य अवस्थामा फर्कियो, निर्वाचन भयरहित बनाउन तयारी पूरा


  • पब्लिक सूचना
  • बिहिबार, कार्तिक २७ २०८२

गृहमन्त्री ओमप्रकाश अर्यालले देशको शान्ति–सुरक्षा अवस्था सामान्य अवस्थामा फर्किएको र आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सरकारले सम्पूर्ण तयारी अघि बढाएको बताएका छन्।

राष्ट्रिय सभाअन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा गृह मन्त्रालयका तर्फबाट प्रतिवेदन प्रस्तुत गर्दै उनले भदौ २३ र २४ गते जेनजी आन्दोलनपश्चात् देश विषम अवस्थामा पुगेको भए पनि छोटो समयमै स्थिति नियन्त्रणमा ल्याइएको बताए।

उनका अनुसार आन्दोलनका क्रममा क्षतिग्रस्त नेपाल प्रहरीका ४६५ युनिटमध्ये ४४८ पुनः सञ्चालनमा फर्किएका छन्। त्यस्तै १० जिल्ला प्रशासन र ४ इलाका प्रशासन कार्यालय पनि सेवा सञ्चालनमा आएका छन्। आन्दोलनमा मृत्यु भएका ३ जना प्रहरी र ४२ जना जेनजी सुशासन योद्धा गरी ४५ जनालाई शहीद घोषणा गर्दै प्रत्येक परिवारलाई १५ लाख रुपैयाँ राहत उपलब्ध गराइएको छ।

गृहमन्त्रीले आन्दोलनका क्रममा लुटिएका ७१८ थान हतियारमध्ये अधिकांश फिर्ता ल्याइएको र बाँकी फिर्ता गर्न संयुक्त अपरेसन जारी रहेको जानकारी दिए। हालसम्म ४२९ जनालाई पक्राउ गरी १६८ मुद्दा दर्ता गरिएको छ।

उनका अनुसार, घटनाका क्रममा देशभरका कारागारबाट फरार भएका १४ हजार ५५४ कैदीमध्ये ९ हजार ५४१ जना फिर्ता ल्याइएका छन् भने बाँकी ५ हजार १३ जनाको खोजी तीव्र बनाइएको छ।

गृहमन्त्री अर्यालले सरकारले निर्वाचनलाई आफ्नो प्राथमिक जिम्मेवारीका रूपमा लिई कानुनी, प्राविधिक र सुरक्षात्मक तयारी तीव्र रूपमा अघि बढाएको बताए। नयाँ मतदाता नामावलीमा दुई लाखभन्दा बढी थपिएको र विदेशस्थित नेपालीको मतदान अधिकारका लागि नीति अनुसन्धान प्रतिष्ठानमार्फत अध्ययन भइरहेको पनि उनले उल्लेख गरे।

“हामीलाई असफल हुने छुट छैन,” गृहमन्त्री अर्यालले भने, “स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न हामी पूर्ण रूपमा तयार छौं।”

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend