पब्लिक सूचना
काठमाडौं, साउन १ गते । आर्थिक वर्ष २०७९/०८० मा चोरीपैठारीका सामान नियन्त्रणमा लिई सशस्त्र प्रहरी बल नेपालले एक अर्ब २६ करोड ४४ लाख २४ हजार ३७० रुपियाँ बराबरको भन्सार दाखिला गरेको छ । आर्थिक वर्ष २०७८/०७९ को भन्दा यस आर्थिक वर्षमा करिब २७ प्रतिशत बढि दाखिला भएको हो ।
सशस्त्र प्रहरीले सो अवधिभर सशस्त्र प्रहरी बल नेपालका विभिन्न युनिटले साउन महिनामा नौ करोड ७९ लाख तीन हजार ३३४ रुपियाँ बराबरको मालसामान बरामद गरेको जनाएको छ ।
यसैगरी, भदौ महिनामा ११ करोड २५ लाख ११ हजार ७२० रुपियाँ, असोज महिनामा आठ करोड, ७४ लाख ९४ हजार ६८३ रुपियाँ, कात्तिक महिनामा छ करोेड ९१ लाख ५८ हजार ५०९ रुपियाँ बराबरको मालसामान बरामद गरेको जनाएको छ ।
त्यस्तै, मङ्सिर महिनामा आठ करोड ४८ लाख ५१ हजार ३५३, पुस महिनामा १७ करोड ५८ लाख ५० हजार २८३, माघ महिनामा आठ करोड १९ लाख ९६ हजार ७५३, फागुन महिनामा आठ करोड ७९ लाख ६० हजार १६५ रुपियाँ बराबरको भन्सार दाखिला भएको थियो ।
साथै चैत्र महिनामा ११ करोड, १८ लाख ३० हजार २६२, वैशाख महिनामा १३ करोड ८१ लाख ८९ हजार ९३१, जेठ महिनामा ११ करोड ४३ लाख ६४ हजार ६०१ र असार महिनामा १० करोड, २३ लाख १२ हजार ७७७ रुपियाँ रहेको छ ।
सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता तथा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले आर्थिक वर्ष २०७९/०८० मा सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालयहरुले उल्लेखित मूल्य बराबरको अवैध चोरीनिकासी बरामद, वन पैदावार, सुनचाँदी र अवैध रुपियाँ बरामद गरी भन्सार दाखिला गरेको बताउनुभयो ।
प्रवक्ता खड्काका अनुसार सो अवधिमा नं. १ बराह बाहिनी मुख्यालय सुनसरीले २८ करोेड ७३ लाख ४५ हजार ५९३, नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले ६५ करोड, ७० लाख २६ हजार ६९५, नं. ३ गढिमाई बाहिनी मुख्यालय मकवानपुरले १ करोड ९० लाख ९९ हजार ६६८, नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीले दुई लाख ८१ हजार चार सय रुपियाँ बरामद गरी भन्सार दाखिला गरेको हो ।
त्यस्तै, नं. ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीले २२ करोड १६ लाख १५ हजार ७६६ र नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीले सात करोड ८३ लाख ४५ हजार २४८ रुपियाँ भन्सार दाखिला गरेको समेत वरिष्ठ उपरीक्षक खड्काले जानकारी दिनुभयो ।
सशस्त्र प्रहरी बल, नेपालले सीमा क्षेत्रको सुरक्षालाई थप मजबुद बनाउनको लागि बिओपीको सङ्ख्या बढाउनुको साथै सीसी क्यामेरा जडान र मनिटरिङ्गलाई समेत विशेष महत्त्व दिएको छ ।
प्रवक्ता खड्काले प्रस्तावित सीमा सुरक्षा गुल्ममा सशस्त्र प्रहरी नायब उपरीक्षकको कमाण्ड रहने व्यवस्था गरी समन्वयको पक्षलाई बढि प्रभावकारी बनाउनुको साथै सीमा क्षेत्रमा खटिएका सबै सरोकारवाला निकायहरुसँग सुमधुर सम्बन्धका साथ प्रभावकारी रुपमा समन्वय हुँदै आइरहेको समेत बताउनुभयो ।
समय समयमा संगठनका उच्च नेतृत्वहरुले समेत सीमा क्षेत्रको निरीक्षण भ्रमण गरी सीमा क्षेत्रबाट हुनसक्ने अवैध गतिविधिहरु नियन्त्रण गर्न निर्देशनसमेत दिँइदै आएको छ । सीमामा खटिने सशस्त्र प्रहरी कर्मचारीहरुले प्रभावकारी रुपमा कार्य गर्नको लागि समय समयमा मुख्यालयबाट निरीक्षणसमेत भइरहेको सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काको भनाइ छ ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend