logo
  • शनिबार, असोज १७ २०८३

भ्रष्टाचार र सुशासनका मुद्दामा सरकार मौन बसेको छैन : प्रधानमन्त्री कार्की


  • पब्लिक सूचना
  • बुधबार, कार्तिक ५ २०८२

काठमाडौँ, कात्तिक ५ गते । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गतेको निर्वाचन सम्पन्न गर्न सरकार दत्तचित्त भएर लागेको बताउनुभएको छ ।

बसन्तपुरमा नेपाल संवत् नयाँ वर्ष ११४६ को स्वागत कार्याक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले विद्रोहपछिको अवस्थालाई सामान्यीकरण गरी आगामी फागुन २१ गते भयरहित ढङ्गले चुनाव सम्पन्न गर्ने वातावरण तयार गर्न यो सरकार दत्तचित्त भएर लागेको बताउनुभएको हो ।

उहाँले निर्वाचन प्राथमिकतामा छ भन्नुको अर्थ भ्रष्टाचार र सुशासनका मुद्दामा सरकार मौन बसेको रुपमा बुझ्न नहुने बताउनुभयो ।

‘‘प्रत्येक दिन राजनीतिक दलहरुसँग कुनै न कुनै रुपमा संवाद भइरहेको छ । परिवर्तनका वाहक जेनजी समुदायसँग पनि निरन्तर संवाद र सम्पर्कमा छौँ । निर्वाचन प्राथमिकतामा छ भन्नुको अर्थ भ्रष्टाचार र सुशासनका मुद्दामा मौन बसेका छौँ भन्ने होइन ।,’’ उहाँले भन्नुभयो, ‘‘नेपालको संविधानको अधीनमा रही जेनजी आन्दोलनको सुशासनको आवाजलाई सम्बोधन गर्नुपर्ने मूल दायित्व पनि हामीमाथि छ । यसमा पनि परिणाम दिने गरी राज्यका संयन्त्रहरुबाट काम अघि बढिरहेको छ ।’’

यसका लागि समाजका सबै पक्षको उत्तिकै भूमिका रहेको उहाँको भनाइ छ । प्रधानमन्त्री कार्कीले भन्नुभयो, ‘‘आउनुहोस्, यसमा सहाकार्य गरौँ र सचेत नागरिकको भूमिका निर्वाह गरौँ। समाजमा सद्भाव र एकता कायम गर्दै लोकतन्त्र जीवित राख्ने र भ्रष्टाचार नियन्त्रण गर्ने राष्ट्रिय अभिभारा पूरा गरौँ ।’’

उहाँले यस कार्यमा सबै राजनीतिक दल, वर्ग, समूहको साथ र सहयोग रहनेछ भन्नेमा विश्वस्त रहेको बताउनुभयो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend