logo
  • शनिबार, असोज १७ २०८३

धान भित्र्याउन अत्याधुनिक प्रविधि


  • पब्लिक सूचना
  • बुधबार, कार्तिक ५ २०८२

बाँकेका किसान आधुनिक प्रविधियुक्त मेसिन प्रयोग गरेर धान भित्र्याउन व्यस्त छन् । खेतभरि पाकेको धान काट्ने, बोक्ने र झार्ने क्रम चलिरहेका कारण गाउँ गाउँमा चहलपहल बढेको छ ।

मनसुन अन्त्यसँगै मौसम अनुकूल बनेपछि जिल्लाका किसानले धान काट्ने कार्यलाई तीव्रता दिएका हुन् । समयमै धान भित्र्याउन नपाए वर्षभरको मेहनत खेर जाने डरले किसान बिहानैदेखि साँझसम्म खेतमै व्यस्त छन् ।

बाँकेको नेपालगन्ज–२१, बिर्ताका किसान लोकनाथ वर्मा एकै पटकमा धान काट्ने, दाना छुट्याउने, दाना सफा गर्ने र पराल छुट्टै निकाल्ने कम्बाइन हार्भेस्टर मेसिन भित्र्याएर धान काट्न व्यस्त हुनुहुन्छ । उहाँले सो मेसिन ल्याएपछि अहिले धान काट्ने काम निकै सहज हुनुका साथै धेरै जनाले लामो समय लगाएर गर्ने कार्यलाई मेसिनले तत्काल नै गरिदिने भएकाले एक पटक लगानी लागे पनि धेरै सरल भएको बताउनुभयो ।

सो मेसिनको काम हेरेर गाउँका धेरैले भाडामा मेसिन माग्न आएको सुनाउँदै उहाँले यसबाट निकै राम्रो भएको बताउनुभयो । कृषि ज्ञान केन्द्र बाँकेले जिल्लाको खजुरा, कोहलपुर र डुडुवाका केही किसानले पनि यस्ता मेसिन ल्याएर अहिले धमाधम धान काट्ने काम गरिरहेको जनाएको छ ।

उता राप्तीसोनारी–५, बिनौनाका किसान सुनौली थारूले बिहान सबेरै उठेर खेतमा जाने र बेलुकी अँध्यारो नपर्दासम्म काम गरेर धान भित्र्याउने हतारो आफूलगायत अधिकांश किसानलाई भएको बताउनुभयो ।

मेसिन नभएका स्थानमा धान भित्र्याउने चटारोबिच कतिपय ठाउँमा काम गर्ने कामदारसमेत अभाव भएको किसानले जनाएका छन् ।  मजदुरको अभावका कारण नै मेसिनबाट धान काट्ने किसान बढ्दै गएको उनीहरूको भनाइ छ । कृषि ज्ञान केन्द्र बाँकेले तिहार सुरु भइसकेको र छठ आउनै लागेकाले छिटोभन्दा छिटो धान भित्र्याएर चाडपर्वमा रमाउने गरी किसानले काम गरिरहेको जनाएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend