logo
  • शनिबार, असोज १७ २०८३

२१ जना घाइते हुने गरी यसरी ठोक्किए ७ वटा गाडी


  • पब्लिक सूचना
  • शनिबार, कार्तिक १ २०८२

नारायणघाट-मुग्लिन सडकमा शनिबार बिहान ७ वटा गाडी ठोक्किए। गाइघाटमा भएको दुर्घटनामा घाइते भएका २१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

नारायणघाट-मुग्लिन सडकमा पहिरो झरेको सामान्य हो तर  ७ वटा गाडी सँगै ठोक्किएको खबर चाहि सबैको लागि नौलो छ। यो दुर्घटना कसरी भयो? हामीले सुरुमा ठोक्किएका ट्रकका चालक अजय स्याङतान र बसका सहचालक अनिस भण्डारीसँग कुरा गरेका छौं।

सुरुमा नारायणगढतर्फ आउँदै गरेको ना ८ ख ६६२९ नम्बरको ट्रक र विपरीत दिशातर्फबाट जाँदै गरेको बा ४ ख ७४२० नम्बरको बस गाइघाटमा ठक्कर खाएका थिए।

सोक्रममा बसको पछाडि रहेका ना ७ ख ९६०७ नम्बरको टेलर, त्यसको पछाडि रहेको बा.प्र. ०६-००१ ग ०४८४ नम्बरको माइक्रो, पछाडि रहेको ग २ ख १६२६ नम्बरको बस, पछाडि ना ३ च ३२५६ नम्बरको बोलेरो भ्यान, अझै पछाडि रहेको बिएबी ८४७० नम्बरको कार ठोक्किएका थिए।

बा ४ ख ७४२० नम्बरको बसका सहचालक १८ वर्षीय अनिस भण्डारीका अनुसार उक्त बस प्रति घण्टा ८० किलोमिटरको गतिमा थियो।

‘हाम्रो बसभन्दा अगाडि पोखरा जाने बस थियो। हामीले उसलाई र माइक्रोलाई ओभरटेक गरियो। त्यसपछि ट्रेलर गाडीलाई उछिनेर अगाडि पुग्दा ट्रकलाई छल्न सकिएन। झ्याम्मै ठोक्कियो,’ उनले भने, ‘२०-२५ जना थिए गाडीमा। म आफैं घाइते भएँ। सातो गइहाल्यो। अरु को-को घाइते भए मेसै पाइनँ।’

उनकाअनुसार यो गाडीको गति सधैँजसो ८० आसपासमै हुने गरेको छ।

ट्रक चालक स्याङतानको छातिमा र बसका सहचालक भण्डारीको ढाडमा चोट छ।

चितवन प्रहरीका एसपी गोबिन्द पुरीले ट्रक र बस ठोक्किएपछि बसको पछाडि रहेका गाडीहरुले तत्कालै गति नियन्त्रण गर्न नसकेको जस्तो देखिएको बताए।

‘दुर्घटनाको विषयमा अनुसन्धान भइरहेको छ। गाडीहरुको स्पिड बढी भएकै कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरेका छौ,’ एसपी पुरीले भने।

दुर्घटनामा घाइते भएका १३ जनाको नेशनल सिटी अस्पताल, ४ जना चितवन मेडिकल कलेज, ४ जनाको जनता केयर अस्पतालमा उपचार भइरहेको डिएसपी रवीन्द्र खनालले जानकारी दिए।

दुर्घटनापछि केही समय सडक पूर्णरुपमा अवरुद्ध भएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend