पब्लिक सूचना
एएफसी एसियन कप छनोटमा नेपाललाई भियतनामले ३-१ ले हराएको छ । यो सँगै नेपालको अघिल्लो चरणको यात्रा निकै कमजोर बनेको छ । छनोटमा नेपालको यो लगातार तेस्रो हार हो ।
खेलको नवौं मिनेटमा घरेलु टोली भियतनामले अग्रता बनायो । ट्रोङ टियन एनको पासमा कमजोर डिफेन्सको फाइदा उठाउँदै न्युगेन हाय लोङले बक्स भित्रबाट गोल गरे ।
तर नेपाल यो अग्रता तोड्न सफल रहयो । १७ औं मिनेटमा रोहन कार्कीको लामो फ्रि-किक प्रहारमा डिफेन्डर सनिश श्रेष्ठको हेडरले सहि दिशा लियो । सनिशको राष्ट्रिय टिमको लागि यो पहिलो गोल हो । साथै भियतनामसँगको तेस्रो भेटमा नेपालले गरेको यो पहिलो गोल पनि हो ।

तर पहिलो हाफको इन्जुरी समयमा नेपाल १० खेलाडीमा समेटियो । डि बक्स नजिकै नेपालका मिडफिल्डर लाकेन लिम्बूले भियतनामका न्युगेन हायलाई फाउल हाने । लाकेनलाई रेफ्रीले रातो कार्ड दिए । पहिलो हाफ १-१ को बराबरीमा सकियो ।
दोस्रो हाफको खेलको ६२ र ६६ औं मिनेटमा गोलकिपर किरणले उत्कृष्ट बचाउ गरे। तर त्यसपछि भने भियतनामले ५ मिनेट भित्र २ गोल गर्दै नेपाललाई स्तब्ध बनायो ।
६७ औं मिनेटमा भियतनामका ट्रोङ टियनको कर्नरमा नेपालका मणि लामाले हेडर गरेको बल क्लियर नहुँदा अनमार्क रहेका फाम सुवान मानले गोल गरे । भियतनामले २-१ को अग्रता बनायो।

खेलको ७२ औं मिनेटमा न्युगेन हायले बक्स बाहिरबाट हानेको प्रहारलाई किरणले डाइभ गरेर बचाए रिबाउन्डमा क्लोज रेन्जबाट न्युगेन भान भिले गोल गरे। यतिखेर सनिशले न्युगेनलाई मार्क गर्न सकेनन्।
इन्जुरी समयमा भियतनामको लागि न्युगेन ह्यु मिनले होल गरे । तर रेफ्रीले अफ साइडको झन्डा उठाइदिए। यो सँगै भियतनामले नेपाललाई ३-१ को सहज नतिजामा हरायो । नेपाल तेस्रो पटक पनि भियतनामसँग पराजित भयो । यसअघि सन् २००४ को एसियन कप छनोटको नेपालले पहिलो खेलमा ५-० र दोस्रो खेलमा २-० को हार बेहोरेको थियो । ३ खेलमा नेपाल अंकविहिन छ । यसअघि पहिलो खेलमा लाओससँग २-१ ले र मलेसियासँग २-० ले हारेको थियो। भियतनामले भने ६ अंक बनाएको छ। अब नेपालले असोज २८ गते (अक्टोबर १४ ) भियतनाममै दोस्रो खेल खेल्नेछ।

© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend