logo
  • शनिबार, असोज १७ २०८३

घमीखोलामा अस्थायी ‘डाइभर्सन’ निर्माणपछि मुस्ताङ भन्सारका कन्टेनर बाहिरिन थाले


  • पब्लिक सूचना
  • बुधबार, असोज २२ २०८२

मुस्ताङको लो–घेकेर दामोदर गाउँपालिका –२ स्थित घमीखोलामा अस्थायी ‘डाइभर्सन’ बनेपछि मुस्ताङ भन्सार कार्यालयमा रोकिएका मालवाहक ‘कन्टेनर’हरू बाहिरिन थालेका छन् ।

जोमसोम–कोरला सडकअन्तर्गत घमीखोलामा निर्माणाधीन पुल सम्पन्न नभएपछि धेरै टन सामान बोकेका ‘ट्रक’ तथा कन्टेनरहरू घमीखोलाको कच्ची पुलबाट बाहिरिन समस्या भएको थियो । लो–घेकर दामोदर कुण्ड गाउँपालिका, सडक विभाग र स्थानीय व्यापारीहरूको समन्वयमा घमीखोलाबाट मालवाहक ठुला ट्रकहरू आवतजावत गर्न सक्नेगरी ‘डाइभर्सन’ गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्पेल विष्टले तत्काललाई राहत मिलेको बताउँदै सडक खण्डमा निर्माणाधीन अवस्थामा रहेको पक्की पुललाई पूर्णता दिन ताकेता गरिरहेको बताउनुभयो । अध्यक्ष विष्टले भन्नुभयो, ‘‘भन्सार चल्न थालेपछि सडक खण्डमा अपुरा पूर्वाधारलाई गति दिन सम्बन्धित निकायमा ताकेता गरेका छौं, मालवाहक ‘ट्रक’ तथा ‘कन्टेनर’हरू बाहिरन समस्या भएको सडक समेत मर्मत गर्नुपर्छ ।’’

यात्रुवाहक र अन्य साना सवारीहरू सञ्चालनका लागि घमीखोलामा निर्मित पुरानै पुल प्रयोग हुनेछ । उक्त पुलबाट यसअघि साना ट्र«कले समेत सामान पार गरेको अवस्थामा अब यात्रुबाहक बाहेक भन्सारबाट आउने सबै मालबाहकलाई डाइभर्सन गरिएको स्थानबाटै आवतजावत गर्ने प्रबन्ध मिलाइएको वडा अध्यक्ष थुक्तेन छिरिङ गुरूङले बताउनुभयो ।

अघिल्लो साता भन्सार कार्यालयबाट जाँचपास भएको चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेशन लिमिटेडको मनाङ जिल्लाका लागि भित्रिएको १८ वटा मालबाहक लरी २० देखि ३० टनभन्दा बढी भएकाले सडक खण्डमा रहेका पक्की पुलको समेत भारवहन परीक्षण गरी लैजानुपर्ने अवस्था छ ।

घमीखोलामा ६ करोड ८० लाख लागतमा हिमढुङ ठोक्कर एण्ड इमोटल जेभी कन्टक्सनले ४० मिटर लामो पुल बि.स २०७५ सालदेखि निर्माण सुरु गरे पनि पूरा भएको छैन् ।

यता भन्सार कार्यालयमा कोरला नाका हुदैं ६ वटा मालबाहक गाडी भित्रिएका छन् । भन्सार कार्यालयबाट जाँचपासपछि कोरला–जोमसोम सडक खण्डबाट लरीसहित ४९ मालबाहक बाहिरिएको छ । भन्सार कार्यालयका प्रमुख रमेश खड्काले हेभी उपकरण बोकेर आएका जलविद्युत कम्पनीलाई सडक खण्डको अवस्थाका बारेमा जानकारी दिइएको बताउनुभयो ।

कोरलाबाट गण्डकी प्रदेशको राजधानी पोखरा पुग्न दुईसय ५१ किलोमिटरको सडकमध्ये एकसय ८६ किलोमिटर दूरीको कोरला–जोमसोम–बेनी सडक खण्डमा निर्माणाधीन अवस्थामा रहेको पक्की पुललाई पूर्णतामा ढिलाइ हुँदा नेपाली व्यवसायीले समेत साना मालवाहक लिएर भन्सार कार्यालयबाट सामान ढुवानी गर्ने गरेका छन् ।

समुन्द्री सतहदेखि ४ हजार ६ सय ५० मिटर उचाइमा अवस्थित कोरोला नाका भारत र चीन जोड्ने सबैभन्दा छोटो (४३५ किलोमिटर) दूरीमा पर्छ ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend