पब्लिक सूचना
काठमाडौँको टोखा रोडस्थित महादेव खोला नजिकैको करिब १३ रोपनी सरकारी जग्गामा यमबुद्ध स्केटबोर्ड पार्क निर्माणको कामले गति लिएको छ। ३ वर्षको लामो प्रतीक्षा र विभिन्न बाधा-अड्चनपछि यो पार्कको निर्माण कार्य सुरु भएको हो।
सुरुमा काठमाडौँ महानगरको वडा नम्बर १६ मा पार्क बनाउने योजना थियो, तर जग्गा उपलब्ध नहुँदा त्यो योजना सफल हुन सकेन। त्यसपछि अन्य दुई वटा वडाहरूमा पनि प्रयास गरियो, तर सरकारी जग्गा प्राप्त नभएकाले काम अघि बढ्न सकेको थिएन।

काठमाडौँ वडा नम्बर ५ का वडाध्यक्ष वीरेन्द्र प्रजापति र स्थानीयहरूको पहलमा उक्त सरकारी जग्गा संरक्षण गरी पार्क निर्माणका लागि उपलब्ध गराइएको हो। यही जेठ २९ गतेदेखि निर्माण कार्य सुरु भएको पार्कको काम अहिले करिब ५० प्रतिशत पूरा भइसकेको छ।
यो पार्क केवल स्केटबोर्ड खेल्ने ठाउँ मात्र नभई युवाको संस्कृतिलाई प्रोत्साहन गर्ने, कला र सङ्गीतको लागि उपयुक्त वातावरण सिर्जना गर्ने र परिवारमैत्री सामुदायिक स्थलको रूपमा विकास भइरहेको छ।

पार्कभित्र अन्तर्राष्ट्रिय स्तरको स्केटबोर्डिङ क्षेत्र (र्याम्प्स, बोल्स र स्ट्रिट्स सहित), बालबालिकाको खेल मैदान, ओपन जिम, शौचालय र भलिबल कोर्ट जस्ता सुविधा निर्माण भइरहेका छन्।
यो परियोजनाले काठमाडौँका युवाहरूका लागि नयाँ अवसर र रचनात्मक क्रियाकलापका लागि सुरक्षित ठाउँ प्रदान गर्ने अपेक्षा गरिएको छ।

© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend