logo
  • शनिबार, असोज १७ २०८३

पत्नी वियोगसँगै आधा भएका प्रचण्ड ! प्रचण्ड प्रधानमन्त्री भएको थाहै नपाई बितिन् सीता

दुई छोरी गंगा र रेणु बन्नेछन प्रचण्ड को एक मात्र साहारा


  • आशिष लामिछाने
  • बिहिबार, असार २८ २०८०

काठमाडौं। राजनीतिक रूपमा शक्तिशाली भए पनि पारिवारिक मामलामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुःखको विम्ब बन्न पुगेका छन्। वियोगको शृङ्खलाबद्ध पीडा सहिरहेका उनीमाथि बुधबार अर्को भयानक बज्रपात आइपर्‍यो–पत्नी वियोगको।

लामो समयदेखि विभिन्न रोगसँग जुधिरहेकी श्रीमती सीता दाहालले देहत्याग गरेसँगै प्रचण्डको परिवार नै आधा हुनपुग्यो। यसअघि एक मात्र छोरा प्रकाश र छोरी ज्ञानुलाई गुमाएका दाहालले बुधबार बिहानै श्रीमती पनि गुमाए ।

श्रद्धाञ्जलीका लागि माओवादी मुख्यालयमा राखिएको सीताको शवअघि बाँकी दुई छोरी गंगा र रेणुको काँधमा कुम अड्याएर भक्कानिएका प्रचण्डको तस्वीरले जो–कोहीलाई भावुक बनायो।

सैद्धान्तिक हिसाबमा भाग्यमा विश्वास नगर्ने माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले बेला-बेला भाषणमा भन्ने गर्छन्, ‘म भाग्यशाली हुँ कि अभागी ? आफैंले ठम्याउन सक्दिनँ।’

हुन पनि हो, राजनीतिक हिसाबमा प्रचण्ड शक्तिशालीसँगै भाग्यमानी देखिन्छन्, मानिन्छन्। परिवारिक मामलामा भने उनी निकै दु:खी र वियोगी छन् । मान्छेहरू भन्ने गर्छन्– प्रचण्ड भरिपूर्णभित्रका पनि रित्ता मान्छे हुन्।

परिवारलाई पार्टीकरण गरेको आलोचना खेपिरहेका प्रचण्डको न पार्टी सग्लो रह्यो न परिवार नै ! सत्ताको केन्द्रमा रहेपनि परिवारसँगै पार्टी छिन्नभिन्न भएको निर्मम सत्यले प्रचण्डलाई कति पिरोल्दो हो !?

पञ्चायती क्रुरताको घेरा तोडेर बहुदलीय व्यवस्था आएपछि जनयुद्ध थालेका उनी अहिले पनि सत्ताको केन्द्रमै छन्। तर, रोगको अगाडि कसको के नै लाग्दो रहेछ र ! तीनपटक प्रधानमन्त्री बनिसकेका उनले श्रीमती र सन्तानलाई कालको मुखबाट फुत्काउन सकेनन्। वियोगको पीडालाई आँशु बनाएर बगाउन बाध्य भए। प्रचण्ड प्रधानमन्त्री भएको थाहै नपाई बितिन् सीता ।

पारिवारिक सुखको मामिलामा ज्यादै दु:खी प्रचण्ड निरन्तर शोकमा त छँदैछन्। विडम्बना आफ्ना नजिकका मान्छेको शोकमा धित मारेर रुन पनि पाउँदैनन्।

यसअघि २०७४ मंसिरमा छोरा गुमाउँदा देश चुनावी माहोलमा होमिएको थियो। चुनावमा एमाले माओवादी गठबन्धन थियो। पार्टी एकताको लक्ष्यसहित चुनावमा होमिएका थिए प्रचण्ड।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँगै चुनावी प्रचारमा रहँदा छोराको निधनको खबरपछि काठमाडौं आए। देश चुनावी चटारोमा भएकाले प्रचण्ड परिवारले प्रकाशको निधनका बेला धित मरुञ्जेल रुन पनि पाएन।

किनकि, वाम गठबन्धनका एक कमान्डर प्रचण्ड आफैँ चुनावी प्रचारमा देश दौडाहामा जानु थियो। पुत्र वियोगको पीडालाई देशको परिस्थतिले कृत्रिम हाँसोले लुकाउन बाध्य प्रचण्ड फेरि पत्नी सीताको भौतिक शरीर चितामा खरानी बनेसँगै सार्वजनिक कामकै लागि दौडिनुपर्ने अवस्था छ।

किनकि, प्रचण्डले अहिले देशको बागडोर सम्हालिरहेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend